Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गायक नविन कार्कीको गीति एल्बम नवीन सार्वजनिक

गायक नविन कार्कीको गीति एल्बम नवीन सार्वजनिक

दैनिकी न्यूज

२५, माघ २०७७
गायक नविन कार्कीको गीति एल्बम नवीन सार्वजनिक
images

भक्तपुर । गायक नवीन कार्कीद्वारा स्वरबद्ध गीति एल्बम नवीन सार्वजनिक भएको छ । शनिबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बानेश्वरस्थित लेखक कुञ्जमा आयोजित एक कार्यक्रममा एल्बमको विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपाल अभियाललाई कसैले अलमल्याउन नसक्ने बताए ।

उनले यो राष्ट्रिय आकाङ्क्षाको लक्ष्यमा पुग्न सरकार सक्रिय रहेको र यो अभियानमा सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।

हरेस नखाई अगि बढे विकास र समृद्धिका खराब पात्र बिदा भएर असल पात्रले निर्धक्क मुलुक हाँक्ने दिन आउने उनले विश्वास व्यक्त गरे ।

मन्त्री गुरुङले गायक कार्कीसँग आफ्नो पुरानो चिनारी रहेको बताउँदै उनको गायन कलामा ऊर्जा देखिएको बताए ।

उनले कार्कीको गायन यात्राको निरन्तरताको कामना गर्दै कार्कीको यात्राले नेपाली संगीतिक दुनियाँमा छुट्टै छाप छोड्न सफल होस् भन्ने कामना व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले भाषा सङ्गीत बाँचेसम्म गायक कार्कीको गला र कला बाँच्ने बताउँदै भौतिक सम्पत्ति क्षणिक भए पनि सङ्गीत कलाको आयु अनन्त रहेको बताए । उनले कार्कीको गायन कला गहन र मन छुने रहेको बताए ।

गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटाले गायक कार्की अमरताको यात्रामा लाग्नुभएको भन्दै स्रष्टा कहिल्यै भूतपूर्व नहुने बताए ।

कार्यक्रममा सङ्गीतकार तथा गायक राजराज सिवाकोटी, गीतकार देवेन्द्र केसी देबु, बिज्ञापन बोर्डका सदस्य बलराम थापा, राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्तराज कार्की, अग्रज पत्रकार बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष समेत रहनु भएका गीतकार पुष्करराज बुढाथोकी, सञ्चारकर्मी अमर ध्वज लामा, मनुका कुँवर, एल्बमका प्रस्तोता तथा गायक कार्कीका धर्मपत्नी तारा कार्की लगायतले गायक कार्कीको गायन यात्राको सफलताको कामना गरे ।

विमोचन कार्यक्रममा गायक कार्कीले गायन यात्राको बारेमा चर्चा गर्दै प्रेरणा, सहयोग र ऊर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गरे ।

सो अवसरमा नेपाली सङ्गीतका शक्ति वरिष्ठ सङ्गीतकार शक्ति बल्लभलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डन्ड गुरुङ, सञ्चार विज्ञ राजेन्द्र मानन्धर, कान्तिपुर एफ एमका समाचार प्रमुख पवन आचार्य, राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्य, पत्रकार टेकराज थामी लगायतको सहभागिता रहेको थियो ।

एल्बममा वरिष्ठ सङ्गीतकार शक्ति वल्लभ, गुरुदेव कामत र राजनराज शिवाकाटीको कर्णप्रिय सङ्गीत र सिद्धहस्त गीतकार स्व। रत्नशम्शेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुबाबु श्रेष्ठ, देवेन्द्र केसी ढेबु, रमेश दाहाल र पुष्करराज बुढाथोकीका ओजपूर्ण शब्द रचना समेटिएका छन् ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १२:१५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology