काठमाडौं । नेपाल आयल निगमले मंसिर १ गते शनिबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ बढाएको छ। पेट्रोलमा कुनै परिवर्तन गरिएको छैन।
निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रूपैयाँ बढाएको हो। इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ भाउअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ।
निगमले तय गरेको नयाँ भाउ देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको भाउलाई ठाउँअनुसार तीन वर्गमा बाँड्दै आएको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ ५० पैसा पर्नेछ।
दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यहाँ लिटरको १५२ रूपैयाँ पर्नेछ।
त्यस्तै, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५३ रूपैयाँ पर्नेछ।