ललितपुर । बालबालिकाहरुको सहभागितामा जोड दिंदै ललितपुर महानगरपालिका वडा नं. २१ खोकनाले आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको छ।
वडास्तरीय बाल अधिकार समितिको आयोजना तथा वडा नं. २१ खोकनाको आयोजनामा शनिबार खोकनाको क्वयलाछिमा भएको बालमैत्री स्थानीय थलो व्यवस्थापन र अतिरिक्त क्रियाकलाप कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष रविन्द्र महर्जनले इतिहास र संस्कृति बचाउनका लागि बालबालिकाहरुका लागि लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताए ।
'प्रत्येक हप्ताको शनिबार बालबालिकाहरुका लागि स्थानीय भाषा, कला, संस्कृति, रीतिरिवाज, परम्परा, सभ्यताको जानकारी दिनेखालका कार्यक्रमहरु, खेलकुदका गतिविधिहरु सञ्चालन हुनेछन्, वालविकास र बालमैत्री स्थानीय शासन भएको खोकना निर्माणका लागि वडाले विशेष ध्यान दिएकोछ।' उनले भने ।
वडा अध्यक्ष महर्जनले मोवाइल र टेलिभिजनका कारणले बालबालिकामा रचनात्मक शक्ति, समूहगत कार्यशैली हराउँदै गएकाले समाजमा चुनौती थपिएको बताउँदै यसको असर निवारणका लागि शारीरिक स्फूर्ति तथा तन्दुरुस्ती बढाउने खालका गतिविधिहरु सञ्चालन गरिने बताए।
'ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधारू' भन्ने महानगरको नारा अनुसार वडा नं. २१ खोकनाले नागरिकमैत्री स्थानीय प्रशासन सञ्चालन र सेवा प्रवाहमा जोड दिंदै आएको वडा सदस्य हेलेन शोभा महर्जनले बताए । उनले ललितपुर महानगरपालिकाको आ.व. २०८१–०८२ को वडा स्तरीय योजना बाल सहभागिता तथा बाल अभिमुखिकारण कार्यक्रम अन्तर्गत बाल विकास र बाल सहभागिताका लागि खेलकुद सामाग्री खरिद गरि बालबालिकाहरुलाई हरेक हप्ता खेलाउने कार्यलाई निरन्तरता दिने बताए ।
ललितपुर महानगरपालिका वडा नं. २१, वडास्तरीय वाल क्लव र वालअधिकार समितिले प्रत्येक हप्ताको शनिबार ११ बजेदेखि २ बजेसम्म खेलकुदका कार्यक्रम हुने वडा सदस्य प्रदीप डंगोलले जानकारी दिए। उनले खोकनाका बालबालिकालाई परम्परागत बाजा, संस्कृतिको बारेमा विस्तृत जानकारी समेत दिंदै यसको संरक्षणका लागि उनीहरुलाई अभिप्रेरित गरिने समेत बताए ।
'वैभवशाली नेवा सांस्कृतिक पहिचान सहित समुन्नत र समतामुलक खोकना' भन्ने नारालाई ध्यान दिंदै वडा नं. २१ ले वडा स्वास्थ्य कार्यन्वयन समितिद्वारा संचालित नागरिकमैत्री प्रभावकारी वडा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
'संविधान प्रदत मौलिक अधिकार जनताको स्वास्थ्य सेवामा हाम्रो अभियान' भन्ने अभिप्रयका साथ वडा नागरिक स्वास्थ्य सेवा केन्द्रबाट प्रत्येक दिन बिहान ७ः०० - ४ः०० सम्म ल्याब परिक्षण, सुगर, प्रेसर, थाइराइड, कोलेस्ट्रोल, भिटामिन, डेंगु लगायतका समस्याको पहिचान गरी उपचार, नसा हाडजोर्नी दुखाईको निःशुल्क जाँच गरी उपचार गर्दै आएको छ।
त्यस्तै वडाले स्त्री रोग गर्भवती जाँच (गाइनोलोजिष्ट), छाती, मुटु, थाइराइड प्रेसर जाँच, मनोरोग र नशा सम्बन्धी जाँच, सामान्य जनलन सम्बन्धि चेक जाँच, फिजियो थेरापी सेवालगायतका सुविधा प्रदान गर्दै आएको छ।