ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं. २ शंखुमा नवनिर्मित शंखु आधारभुत अस्पताल भवन चैत २७ गते हस्तान्तरण एवम् समुद्घाटन हुने भएको छ। पालिका स्तरिय आधारभुत १० शैयाको अस्पताल करिव ६ रोपनी जग्गामा निर्मित भएको हो । अस्पताल बनाउन विष्णुमाया बोम्जनले ३ रोपनी जग्गा दान गरेका थिए भने २ रोपनी जग्गा विष्णुमायाको नातिहरु मरिचमान र किशोर बोम्जनसँग १६ लाखमा खरिद गरिएको थियो । कोन्ज्योसोम गाउँपालिकाले र बाँकी स्थानीयसँग सहयोग संकलन गरेर जग्गा किनिएको थियो भने बाँकी १ रोपनी जग्गासंगैको सरकारी जग्गा कानुनी प्रकृया पूरा गरेर जम्मा ६ रोपनी क्षेत्रफलमा अस्पताल बनाउन कोन्ज्योसोम गाउँपालिकाले जग्गा व्यवस्थापन गरि २०७८ भाद्र २३ गते व्राइट (ज्ञानज्योति – सप्तपथ जेभीसँग १३ करोड ८१ लाखका निर्माण सम्झौता गरि काम सुरु भएको थियो ।

२०७८ साल चैत्र १४ गते सोमबार तत्कालीन पालिका अध्यक्ष गोपीलाल सिंतान, उपाध्यक्ष मिङ्मा लामा, वडाध्यक्ष धु्रव घिमिरेलगायत जनप्रतिनिधि र कर्मचारीले सिलान्यास गरि निर्माण कार्य सुरु भएको थियो । अस्पताल बनाउन संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट व्यवस्थापन गरेको थियो भने वाँकी काम गर्न कोन्ज्योसोम गाँउपालिका र जिल्ला समन्वय समिति ललितपुरले समेत आर्थिक व्यवस्थापन गरि अस्पताल निर्माण कार्य सम्पन्न भएको हो।
आधारभुत अस्पताल भवन उद्घाटनपछि अस्पतालको भवनवाट हाल स्वास्थ्य चौकीले दिंदै आएको सेवा सुविधा दिईने र १ वर्ष भित्र अस्पतालका लागि आवश्यक स्वास्थ्यकर्मी, कर्मचारी, यन्त्र उपकरणलगायत आधारभुत अस्पतालले पूरा गर्नुपर्ने मापदण्डअनुसार सम्पुर्ण व्यवस्थापन गरेर अस्पताल पुर्णरुपमा संचालनमा ल्याउनेगरि काम अगाडि बढाइएको कुरा पालिकाका अध्यक्ष कृष्णमान लामाले बताए ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा मगर, वाग्मती प्रदेस सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, प्रदेश सभा सदस्य उर्मिला लामा, पुर्व जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, समाजसेवीलगायत भव्य जनसहभागिता र उपस्थितिमा अस्पताल उद्घाटन हुँदैछ।
अस्पताल संचालनमा आएसंगै कोन्ज्योसोम गाउपालिका, महाँकाल गाउँपालिकाको बुखेल, बागमती गाउँपालिकाको इकुडोललगायतका जनतालाई प्रत्यक्ष लाभ पुग्नेछ। हाल यहाँका सामान्य स्वास्थ्य चौकीमा उपलब्ध सेवा बाहेकका सेवा लिन आनन्दबन अस्पताल बज्रबाराही अस्पताल, पाटन अस्पताललगायतका अन्य अस्पताल आउनुपर्ने अवस्था छ । यस शंखु आधारभुत अस्पताललाई पुर्ण संचालनमा ल्याउनसके यहाँका जनताले राहत महसुस गर्न सक्छन् । हाल अस्पतालको पुर्वाधार निर्माण सकिएपनि अस्पतालका लागि आवश्यक व्यवस्थापन हुन सकेको छैन । यस सन्दर्भमा अस्पताल संचालन गर्न प्रदेश सरकारसँग समन्वय गरि छिटै पुर्ण रुपमा संचालन गरिने पनि पालिका अध्यक्ष लामाले दैनिकीन्युजलाई बताए ।