काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिने यस हकप्रद सेयरबाट कम्पनीले जम्मा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको पुँजी जुटाउनेछ। हकप्रद सेयरका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार वैशाख ४ गतेसम्म कम्पनीका सेयरधनीहरूले मात्र आवेदन दिने पात्रता पाउनेछन्।
यो हकप्रद सेयरमा लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्। नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई हकप्रद सेयरको बिक्री प्रबन्धक तोकिएको छ। इच्छुक लगानीकर्ताहरूले सो बैंकसँगै कम्पनीका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरूबाट समेत आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासनपछि भने यो पुँजी बढेर ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।