काठमाडौं । उदाउँदो गायिका तथा मोडल रिया खत्रीको नयाँ म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छ’ सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र विश्वास नेपालको स्वर, राजेश नेपाल बबिनको शब्द र विश्वास नेपालकै सङ्गीत रहेको छ ।
भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गरेका छन् भने रिया खत्री र मोडल लोमस शर्माको अभिनय रहेको छ । निर्देशक भट्टले भिडियो उत्कृष्ट बनेको बताउँदै प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरेका छन् ।
रिया खत्रीको आधिकारिक युट्युब च्यानल Riya Khatri Official ले ६ महिनामै २३ हजारभन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ । उनका विभिन्न लाईभ दोहोरी र अन्य गीतलाई लाखौं दर्शकले मन पराएका छन् ।
हालसम्म उनले दर्जनभन्दा बढी गीतमा स्वर र अभिनय दिँदै देश–विदेशका विभिन्न कार्यक्रममा प्रस्तुति दिएकी छिन् । सल्यान बागचौरकी २१ वर्षीया खत्रीले कलाकारितामै भविष्य बनाउने संकल्प व्यक्त गर्दै दर्शकलाई ‘कोशेली’ हेरी माया–सुझाव दिन आग्रह गरेकी छिन् ।