Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रधानमन्त्रीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव

प्रधानमन्त्रीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव

दैनिकी न्यूज

३०, भाद्र २०८२
प्रधानमन्त्रीलाई नारायणकाजी श्रेष्ठका ६ सुझाव
images

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदे सुझाव सार्वजनिक गरेका छन्। उनले प्रधानमन्त्री कार्कीलाई सम्पर्क गर्ने प्रयास फोनमार्फत असफल भएपछि सामाजिक सञ्जालमार्फत सुझाव दिनुपरेको बताएका छन्।

श्रेष्ठले सोमबार बिहान फेसबुकमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै, छिट्टै मन्त्रिपरिषद् विस्तार गरी दलभन्दा बाहिरका स्वच्छ, निष्ठावान्, देशभक्त र सक्षम व्यक्तिलाई समेट्न आग्रह गरेका छन्। साथै, मुलुकमा शान्ति र सुव्यवस्था कायम गर्न तथा तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

उनले भनेका छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुहोस् र मुलुकमा स्थिरता, शान्ति तथा निष्पक्ष निर्वाचन सम्पन्न गर्न केन्द्रित हुनुहोस्।”

यस्तो छ सुझाव

तपाईँ प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईँलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईँको फोन सम्पर्क हुन सकेन । तपाईँको नियमित सम्पर्कमा तपाईँसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईँलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको  माध्यम मार्फत केही महत्त्वपूर्ण सुझावहरू दिन चाहन्छु ।

एक, तपाईँले छिटो राजनीतिक दलहरू भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान्, देशभक्त, स्वच्छ एवं क्षमतावान् व्यक्तिहरूलाई  मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।

दुई, तपाईँले सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् । 

तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुस् ।

चार, ध्वंस गरिएका संरचनाहरूको पुनः निर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरुवात गरियोस् ।

पाँच, भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारबाही हरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।

, प्रतिनिधिसभा नरहेको अवस्थामा सङ्घीय संसद्को भूमिका राष्ट्रियसभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रियसभामार्फत गर्न ध्यान दिइयोस् ।

सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईँ लोकरिझ्याइँका अन्य छिटपुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईँको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरू सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - १०:३५:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology