काठमाडौं । दसैँको महाअष्टमीका दिन घर–घरमा बलि दिइएका खसी, बोका, राँगा, च्याङ्ग्राको मासु खाने परम्परा रहेको छ । चिकित्सकहरूले मासु खानै नहुने नभई पकाउने तरिकामा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।
पुष्पाञ्जलि अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीका अनुसार अस्वस्थ तरिकाले पकाइएको मासुले उच्च रक्तचाप, मुटु, मधुमेह, पेटसम्बन्धी समस्या, झाडाबान्ता र कब्जियत बढाउने जोखिम हुन्छ । उनले धेरै दिनसम्म बासी मासु खाने प्रवृत्ति स्वास्थ्यका लागि घातक हुने चेतावनी दिए ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा। गुरुशरण साह र डा. विनय ठाकुरले रातो मासु पोलेर, तारेर वा धेरै भुटेर खाँदा क्यान्सरको जोखिम बढ्ने उल्लेख गर्दै बरु कुखुराको मासु वा माछा सेवन गर्न सिफारिस गरेका छन् ।
चितवन मेडिकल कलेजका डा। सौरभ खतिवडाले बोसो बढी भएको मासुले मोटोपना र रक्तमा चिनीको मात्रा बढाउने बताएका छन् । उनका अनुसार राति बोसोयुक्त खाना खाँदा बिहानसम्म असर रहने भएकाले सावधानी अपनाउन आवश्यक छ ।
सोही कलेजका मुटुरोग विशेषज्ञ प्रा. डा. श्याम राज रेग्मीले मुटुरोग, मधुमेह र उच्च कोलेस्ट्रोल भएका बिरामीले मासु सेवनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । ‘चिल्लो, छाला र बोसो नभएको मासु थोरै मात्रामा खानु सुरक्षित हुन्छ,’ उनले भने ।
चिकित्सकहरूले दसैँमा हर्षोल्लाससहित मनाउन आग्रह गर्दै मासु वा मिठाई अत्यधिक नखाने, तरकारी र गेडागुडी समेत आहारमा समावेश गर्ने, र मदिरा तथा चुरोटबाट टाढा रहनेमा जोड दिएका छन् ।