ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–१ ईमाडोलस्थित एक घरमा भएको चोरी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। कात्तिक १९ गते दिउँसो घरको कोठाको ताल्चा फुटाई २१ लाख ८३ हजार ३०० बराबरका सुनचाँदीका गरगहना तथा धनमाल चोरी गरेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले मिति कात्तिक २८ गते महालक्ष्मी–८ लुभुबाट चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी चक्रराज जोशीले जानकारी दिए। पक्राउ परेकामध्ये सबैलाई ललितपुर जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर अनुसन्धान जारी छ।
पक्राउ पर्नेमा नुवाकोट बिदुर–१ घर भै हाल हाल लुभु, ललितपुर बस्ने वर्ष ४१ का दिनेश विश्वकर्मा, घर रामेछाप नगरपालिका–२ घर भै हाल महालक्ष्मी–८, लुभू, ललितपुर बस्ने वर्ष ३२ का दिपक थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका–३ घर भै हाल महालक्ष्मी–८, ललितपुर बस्ने वर्ष ४० का तिर्थबहादुर थापा मगररहेका छन् ।
चोरी गएर ल्याइएका चाँदीका गहनाहरू सस्तोमा किन्ने व्यक्ति भिमे कामी लाई समेत प्रहरीले मिति कात्तिक ३० गते भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको जनाएको छ। खोटाङ रुपाकोट मझुवागढी–४ घर भई भक्तपुरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका उनलाई समेत अनुसन्धान दायरामा राखिएको प्रहरीले बताएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरीरहेको जोशीको भनाई छ ।