Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गायक खनाल र परियारको आवाजमा मालारानी भजन बजारमा

गायक खनाल र परियारको आवाजमा मालारानी भजन बजारमा

दैनिकी न्यूज

२, माघ २०८२
गायक खनाल र परियारको आवाजमा मालारानी भजन बजारमा
images

काठमाडौं अर्घाखाँची जिल्लास्थित धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन “मालारानी” सार्वजनिक गरिएको छ। स्थानीय आस्था, संस्कृति र प्राकृतिक सौन्दर्यलाई गीत–संगीतमार्फत उजागर गर्ने लक्ष्यसहित यो भजन निर्माण गरिएको हो।

सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा गीत र संगितबाट आफ्नो पहिचान बनाउन सफल गायक तथा सर्जक मोतिराज खनालको शब्द, संगीत र स्वर रहेको छ भने खनालसँगै सुमधुर स्वरकी धनी गायिका सुनितामी परियारले पनि मालारानी भजनमा स्वर दिएकी छन । संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । भजनको शब्द संयोजन जनार्दन खनालले गरेका हुन ।

सान्सा फिल्मको प्रस्तुति तथा मालारानी गाउँपालिकाको सहयोगमा निर्माण भएको म्युजिक भिडियोमा विभिन्न म्युजिक भिडियो र सिरियलका लोकप्रिय पात्र सुरबिर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल र राजेन्द्र रानाको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गरेका हुन्, जसले मालारानीको धार्मिक महत्व र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन्।

यस भजनको अडियो मालाश्री रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो। रेकर्डिङ सागर बाजुराली, मिक्सिङ खडक बाजुराली तथा भिडियो सम्पादन बिनोद बमले गरेका छन्।

निर्माण टिमका अनुसार “मालारानी” भजनले त्यस क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास लिइएको छ। अर्घाखाँचीको मौलिकता र धार्मिक धरोहरलाई सबै नेपाली माझ चिनाउने प्रयासस्वरूप यो भजनलाई महत्वपूर्ण सिर्जनाका रूपमा हेरिएको छ।

images
प्रकाशित मिति :माघ २, २०८२ शुक्रवार - १८:०२:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology