Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

ललितपुरमा लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

दैनिकी न्यूज

१२, माघ २०८२
ललितपुरमा लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न
images

ललितपुर । लैङ्गिक न्यायपूर्ण समाज निर्माणमा सञ्चारमाध्यमको भूमिका सुदृढ बनाउने उद्देश्यसहित ललितपुरस्थित स्क्वायर होटलमा आइतबार एक दिने लैङ्गिक न्यायमूलक पत्रकारिता सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ।

कार्यशालामा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखाअन्तर्गत नेपाल पत्रकार महासंघका पत्रकारहरू तथा राष्ट्रिय तहमा लैङ्गिक समानताको क्षेत्रमा क्रियाशील सञ्चारकर्मी गरी ४५ जनाको सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यशालाको उद्देश्य सञ्चार क्षेत्रलाई लैङ्गिक रूपान्तरणको अभ्यासतर्फ उन्मुख गराउनु, लैङ्गिक हिंसा पीडित तथा प्रभावित व्यक्तिकेन्द्रित संवेदनशील रिपोर्टिङ प्रवर्द्धन गर्नु तथा महिला अधिकार, बालअधिकार र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणमा मिडियाको जिम्मेवारी र जवाफदेहिता अभिवृद्धि गर्नु रहेको छ।

सुरक्षा र न्याय कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन नीड नेपालको नेतृत्वमा दिव्य विकास स्रोत केन्द्र, पर्सा र हामी दाजुभाइ संस्थाको सहकार्यमा संघीय तह तथा मधेश प्रदेशका विभिन्न समुदायमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। सोही कार्यक्रमको निरन्तरताका रूपमा पत्रकारितामार्फत सामाजिक चेतना विस्तार गर्ने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको जनाइएको छ।

कार्यशालामा लैङ्गिक अवधारणा, डिजिटल पत्रकारिता, गलत सूचना नियन्त्रण, पीडितको गोपनीयता तथा सुरक्षा, पत्रकार आचारसंहिता र सामाजिक रूपान्तरणमा मिडियाको भूमिकाबारे छलफल गरिएको थियो। कार्यक्रममा सुरक्षा र न्याय कार्यक्रमका पाँच प्रमुख पैरवी सन्देशहरूमा विशेष जोड दिइएको थियो।
कार्यशालाको सहजीकरण सार्वजनिक सेवा प्रसारण नेपालकी नायब महाप्रबन्धक तथा लैङ्गिक विश्लेषक आरती चटौतले गरेकी थिइन्। उनले लैङ्गिक विभेद, हिंसा तथा समावेशीताका विषयमा प्रस्तुति दिएकी थिइन्। त्यस्तै, अनलाइन खबर डटकमकी पत्रकार सुमित्रा लुइँटेलले पत्रकार आचारसंहिता र लैङ्गिक न्याय प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिकाबारे प्रस्तुति दिएकी थिइन्।

कार्यक्रमको उद्घाटन हामी दाजुभाइ संस्थाका महासचिव अशोक सिवाकोटीले गरेका थिए भने पिपुल इन नीड नेपालकी लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण तथा संरक्षक संयोजक निर्मला केसीले सुरक्षा र न्याय कार्यक्रमबारे जानकारी दिएकी थिइन्।

कार्यशालाले सञ्चार क्षेत्रलाई न्यायकेन्द्रित, समावेशी र जिम्मेवार रिपोर्टिङतर्फ प्रेरित गर्ने अपेक्षा आयोजकले गरेका छन्। साथै, कार्यशालापछि छनोट हुने केही सञ्चारकर्मीहरूले लैङ्गिक समानता तथा सामाजिक रूपान्तरणका लागि फेलोसिप पत्रकारका रूपमा काम गर्ने अवसर पाउने जनाइएको छ।

images
प्रकाशित मिति :माघ १२, २०८२ सोमवार - ०६:४८:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology