काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज चुनावी प्रचारप्रसारको अन्तिम दिन रहेको छ । आज मध्यराति १२ बजेदेखि मौन अवधि लागू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरूले आजसम्म मात्रै प्रचार गर्न पाउनेछन्।
निर्वाचन आयोगका अनुसार मौन अवधि मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म लागू रहनेछ। यस अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार तथा त्यससँग सम्बन्धित गतिविधि गर्न निषेध गरिएको छ।
आयोगले मौन अवधिमा सभा, सम्मेलन, अन्तर्क्रिया, छलफल, गोष्ठी, कार्यशालालगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने स्पष्ट पारेको छ। साथै मतदानको ४८ घण्टाअघि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था रहेको छ। कुनै पनि माध्यमबाट मत माग्न वा प्रचार गर्न समेत प्रतिबन्ध लगाइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिको आचारसंहिता उल्लङ्घन गरेमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी दिएका छन्।
