Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निगमले बढायो डिजल र मट्टितेलमा मूल्य, पेट्रोलको यथावत

निगमले बढायो डिजल र मट्टितेलमा मूल्य, पेट्रोलको यथावत

दैनिकी न्यूज

३, बैशाख २०८३
निगमले बढायो डिजल र मट्टितेलमा मूल्य, पेट्रोलको यथावत
images

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ भारी मात्रामा वृद्धि भएको छ । निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरात अर्थात् वैशाख ३ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको हो।

निगमले जारी गरेको विज्ञप्तिमा डिजेल र मट्टितेलको भाउमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ। यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। पेट्रोलको भाउ भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ।

नयाँ भाउ कायम भएपछि अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा डिजेल र मट्टितेलको खुद्रा बिक्री भाउ प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रमा प्रतिलिटर २०७ रुपैयाँ रहेको थियो। यस्तै, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर २३६ रुपैयाँ तथा पहिलो वर्ग अन्तर्गतका तराईका विभिन्न क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायत) मा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। हवाई इन्धन (आन्तरिकतर्फ) को नयाँ मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार यो निर्णय गरिएको निगमले स्पष्ट पारेको छ।

मूल्यमा यति ठूलो वृद्धि गर्दा पनि निगम अझै घाटामा रहेको देखिएको छ। निगमका अनुसार यो समायोजन पश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा कायमै छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण निगमलाई पाक्षिक (१५ दिन) रूपमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

images
प्रकाशित मिति :बैशाख ३, २०८३ बिहिवार - ०६:३९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology