Logo

आइतवार, श्रावण २४ गते २०८३

images

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बैशाख १६ देखि खुल्ने

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बैशाख १६ देखि खुल्ने

दैनिकी न्यूज

७, बैशाख २०८३
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बैशाख १६ देखि खुल्ने
images

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आगामी बैशाख १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण गरिसकेको छ। त्यस्तै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको शेयर पनि बाँडफाँट भइसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओमा आवेदन दिने म्याद छिटोमा बैशाख २२ गतेसम्म रहनेछ भने पूर्ण आवेदन नपरेमा बैशाख ३० गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको क्रेडिट रेटिङ्ग अनुसार, केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी माइनस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

याम्बालिङ्ग हाइड्रोपावरले ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत करिब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ।

कम्पनीका अनुसार, आयोजनामा गरिएको लगानी साधारण रूपमा करिब १०।७६ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने छुट दर ९डिस्काउण्ट०मा लगानी फिर्ता हुने अवधि करिब १९।८७ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। 

images
प्रकाशित मिति :बैशाख ७, २०८३ सोमवार - १५:१०:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology