काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ई को चौथो वार्षिक अधिवेशन भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले लायन वर्ष २०२६/०२७ का लागि नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनबाट डिष्ट्रिक्ट गभर्नरमा लायन श्याम कुमार यादव, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन बिमल कुमार श्रेष्ठ तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन राजन श्रेष्ठ निर्वाचित भएका छन्।

काठमाडौंको सुकेधारास्थित युनिभर्सल रिसेप्शनमा आयोजित अधिवेशनमा वर्तमान डिष्ट्रिक्ट गभर्नर लायन हिरा प्रसाद गुप्ताले वर्षभरि सम्पन्न भएका गतिविधिहरूको समीक्षा प्रस्तुत गरेका थिए। उनले डिष्ट्रिक्टका महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न सहयोग पुर्याउने लायन सदस्यहरूलाई सम्मान समेत गरेका थिए।
पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता र लायन्स अन्तर्राष्ट्रियका पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन संजय खेतानको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब ३०० लायन सदस्यहरूको सहभागिता रहेको थियो।
अधिवेशनमा मल्टिपल डिष्ट्रिक्ट ३२५ ई अन्तर्गतका विभिन्न डिष्ट्रिक्टका गभर्नरहरू तथा पूर्व गभर्नरहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी लायन भुवन पोखरेल र ट्रेजरर लायन गोविन्द चौलागाईंले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रमुख अतिथि खिलराज रेग्मीले डिष्ट्रिक्ट ३२५ ई नेपालमा मात्र नभई विश्वमै उत्कृष्ट डिष्ट्रिक्टको रूपमा स्थापित भएको उल्लेख गरे। त्यस्तै, वर्तमान डिष्ट्रिक्ट गभर्नर लायन हिरा प्रसाद गुप्ताले सेवा कार्यका दृष्टिले आफ्नो डिष्ट्रिक्ट अग्रस्थानमा रहेको बताएका थिए।
नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर लायन श्याम कुमार यादवले लायन वर्ष २०२६/०२७ का लागि क्याबिनेट सेक्रेटरीमा लायन अजय खनाल, ट्रेजररमा लायन कृष्ण शर्मा तथा प्रमुख सल्लाहकारमा लायन होम प्रसाद घिमिरेलाई नियुक्त गरेका छन्।
अधिवेशनले आगामी कार्यकालका लागि संगठनलाई अझ सशक्त, प्रभावकारी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै समापन भएको थियो।