Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको पत्रकारिता इतिहास पुस्तक विमोचन, सात पत्रकार सम्मानित

ललितपुरको पत्रकारिता इतिहास पुस्तक विमोचन, सात पत्रकार सम्मानित

दैनिकी न्यूज

१६, जेठ २०८३
ललितपुरको पत्रकारिता इतिहास पुस्तक विमोचन, सात पत्रकार सम्मानित
images

ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुरको पत्रकारिता इतिहास’ पुस्तक शनिबार विमोचन गरिएको छ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तकको विमोचन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राउतले पुस्तकलाई ललितपुरको पत्रकारिता क्षेत्रको महत्वपूर्ण दस्तावेजको रूपमा व्याख्या गर्दै यसको प्रकाशनका लागि शाखालाई धन्यवाद दिए। लोकतान्त्रिक व्यवस्थामा पत्रकारले वाक तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए।

सोही अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका सात जना पत्रकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरिएको थियो। राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। उनीहरूलाई लामो समयदेखि पत्रकारितामार्फत समाज परिवर्तनका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो।

त्यस्तै, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार तथा नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो।

दियोपोष्टकी रीता बुढाथोकीलाई क्यान्सर रोगसम्बन्धी सचेतनामूलक पत्रकारितामा योगदान पुर्‍याएको भन्दै सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी, नेपाल टेलिभिजनका ईश्वर महर्जन र मिडियासञ्चारडटकमका केदारनाथ दाहाललाई ललितपुरका विषयवस्तु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले शाखाले विगत डेढ वर्षको अवधिमा पत्रकारहरूको वृत्ति विकासका लागि विभिन्न तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

अध्यक्ष कार्कीले आगामी वर्षदेखि ललितपुरको पत्रकारितासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले एक जना महिला र एक जना पुरुष पत्रकारलाई शोधपत्र लेखनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरे।

साधारण सभाको बन्द सत्रमा शाखाका सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको शाखाले जनाएको छ।

कार्यक्रममा बागमती प्रेस रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी, केन्द्रीय सदस्य अर्जुन पन्त, सूर्य सुवेदी, रीता बुढाथोकी, वीरेन्द्र ओली, प्रदेश अध्यक्ष टेनिस रोकालगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :जेठ १६, २०८३ शनिवार - १९:२५:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology