ललितपुर । प्रविधिको विकाससँगै ललितपुरका युवाहरू इन्टरनेट र सामाजिक सञ्जाललाई आम्दानीको माध्यम बनाउन लागिपरेका छन् । परम्परागत रोजगारीका अवसरहरू घट्दै गएका बेला ललितपुरको गोदावरीमा युवाहरूका लागि दुई दिने युवाहरुलाई रोजगारीसँग जोड्ने सूचना, संचार, प्रविधि तथा डिजिटल डिजिटल मार्केटिङ तालिम शनिबारदेखि सुरु भएको छ । बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालयको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा आयोजना गरिएको तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अहिलेको समयमा प्रविधि अनुसार नचल्नेर पछि पर्ने बताए । पहिले सूचना पाउन निकै गाह्रो हुने भए पनि अहिले प्रविधिको कारण संसारभरिका अवसरहरू सजिलै पाउन सकिने उनको भनाइ थियो । मेयर महर्जनले युवाहरूलाई फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता माध्यमहरू मनोरञ्जनका लागि मात्र नभई आफ्नो व्यापार बढाउन र पैसा कमाउन प्रयोग गर्न आग्रह गरे ।

त्यस्तै, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले नेपालमा इन्टरनेटको विकास तीव्र गतिमा भइरहेकाले युवाहरूले समयअनुसार आफ्नो सीप बदल्नुपर्नेमा जोड दिए ।

किटनी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा गोदावरी नगरपालिकाका कानूनी सल्लाहकार बालमुकुन्द घिमिरेले कतिपय युवाले सामाजिक सञ्चालको प्रयोग गर्न नजान्दा कानूनी झमेलामा पर्ने बताए ।

किट्नी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले युवाहरुलाई डिजिटल शिक्षाबारे ज्ञान हुनु अपरिहार्य भएको बताए ।
यो तालिममा युवाहरूलाई आजको बजारमा चाहिने व्यावहारिक सीपहरू सिकाइँदै छ ।


प्रशिक्षकहरू राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, अनलाइन पत्रकार संघका अध्यक्ष जीवन भण्डारी र पोलिगन कलेजका प्राध्यापक योगेन्द्रबहादुर महताले सहभागीहरूलाई मोबाइलबाट राम्रो फोटो खिच्ने तरिका, सामाजिक सञ्जालको सही प्रयोग र डिजिटल मार्केटिङका बारेमा प्रशिक्षण दिएका थिए ।
पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले यो तालिमले युवाहरूलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने दाबी गरे ।
बढ्दो बेरोजगारीका बीच यस्ता डिजिटल सीपले युवाहरूलाई घरमै बसेर स्वरोजगार बन्न र इन्टरनेटको माध्यमबाट विदेशी बजारसम्म जोडिएर आम्दानी गर्न ठूलो मद्दत पुग्ने महासंघ ललितपुरले लिएको छ ।
