Logo

आइतवार, श्रावण २४ गते २०८३

images

असार १५ आज : दही–चिउरा खाँदै र हिलोमा रमाउँदै मनाइँदै राष्ट्रिय धान दिवस

असार १५ आज : दही–चिउरा खाँदै र हिलोमा रमाउँदै मनाइँदै राष्ट्रिय धान दिवस

दैनिकी न्यूज

१५, आषाढ २०८३
असार १५ आज : दही–चिउरा खाँदै र हिलोमा रमाउँदै मनाइँदै राष्ट्रिय धान दिवस
images

काठमाडौं । कृषि संस्कृतिसँग जोडिएको राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। किसानहरू खेतमा धान रोप्दै, असारे भाका गाउँदै र दही–चिउरा खाँदै पर्व मनाइरहेका छन् भने अन्य पेसा–व्यवसायमा आबद्ध नेपालीले पनि दही–चिउरा सेवन गरेर असार १५ को परम्परालाई निरन्तरता दिएका छन्।

असार १५ नेपाली कृषि संस्कृतिको महत्वपूर्ण दिन मानिन्छ। वर्षभरका लागि अन्न उत्पादन गर्ने धानखेतीको मुख्य समय भएकाले यस दिन किसान बिहानैदेखि खेतमा व्यस्त हुन्छन्। रोपाइँको बीचमा दही–चिउरा खाने चलनले शरीरलाई शीतलता दिने, ऊर्जा बढाउने र थकान कम गर्ने विश्वास रहिआएको छ।

नेपाली समाजमा दहीलाई शुभको प्रतीकका रूपमा लिने परम्परा छ। नयाँ कामको सुरुआत, यात्रा वा विदेश प्रस्थान गर्नुअघि दहीलाई सगुनका रूपमा खुवाउने तथा दही–अक्षता लगाएर शुभकामना दिने चलन आज पनि कायम छ।

स्वास्थ्यका दृष्टिले पनि दही लाभदायक मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउने, शरीरलाई आवश्यक पोषण दिने तथा पखालाजस्ता समस्यामा समेत उपयोगी हुने विश्वास गरिन्छ। आयुर्वेदमा भोजनपछि मोही पिउनुलाई स्वास्थ्यका लागि लाभदायक बताइएको छ।

असार १५ मा खेतभरि असारे गीत घन्किने र हिलोमा रमाउने परम्परा पनि उत्तिकै लोकप्रिय छ। किसान तथा स्थानीय युवायुवती हिलोमा धान रोप्दै लोकगीत गाउने, एकअर्कालाई हिलो छ्यापेर रमाइलो गर्ने चलनले यो पर्वलाई सांस्कृतिक उत्सवका रूपमा स्थापित गरेको छ।

सरकारले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा औपचारिक रूपमा मनाउन थालेको हो। २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार यो दिवस मनाउने व्यवस्था गरिएको थियो।

यद्यपि यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाइँ अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। कतिपय स्थानका किसानले रासायनिक मलको अभावको गुनासो गरेका छन्। तर कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक परिमाणमा रासायनिक मलको मौज्दात रहेको जनाएको छ।

कृषिप्रधान नेपालमा असार १५ केवल खेतीपातीको दिन मात्र होइन, कृषि, संस्कृति, परम्परा र सामूहिक उत्सवको प्रतीकका रूपमा पनि स्थापित हुँदै आएको छ।

images
प्रकाशित मिति :आषाढ १५, २०८३ सोमवार - ०८:२५:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology