काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरेको छ। अब ग्राहकले आफ्नो बैंक खाता नेपालभरका जुनसुकै शाखाबाट वा मोबाइल बैंकिङ तथा बैंकको वेबसाइटमार्फत बन्द गर्न सक्नेछन्।
शुक्रबार जारी गरिएको राष्ट्र बैंकको सर्कुलरअनुसार ग्राहकले शाखामा उपस्थित भएर वा डिजिटल माध्यमबाट खाता बन्द गर्न निवेदन दिएमा सम्बन्धित बैंकले खातामा रहेको रकम ग्राहकले तोकेको आफ्नै अर्को बैंक वा वित्तीय संस्थाको खातामा स्थानान्तरण गरी खाता बन्द गर्नुपर्नेछ।
राष्ट्र बैंकले निष्क्रिय खाता पुनः सञ्चालनलाई पनि सहज बनाएको छ। अब ग्राहकको पहिचान सुनिश्चित भएपछि देशभरका कुनै पनि शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।
सर्कुलरमा बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र कार्यान्वयनमा ल्याउन भनिएको छ। साथै, कुनै सक्रिय खाता निष्क्रिय हुनुअघि फोन, एसएमएस, इमेललगायतका माध्यमबाट ग्राहकलाई पूर्वसूचना दिनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, निष्क्रिय खाता पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा एकपटक फोन, एसएमएस वा इमेलमार्फत सम्बन्धित ग्राहकलाई जानकारी गराउनुपर्नेछ। यससम्बन्धी सम्पूर्ण अभिलेख सुरक्षित राख्न पनि बैंकहरूलाई निर्देशन दिइएको छ।
राष्ट्र बैंकले निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खाताबाट हुने अस्वाभाविक कारोबारको निगरानी गर्न आवश्यक प्रणाली विकास गर्न बैंक तथा वित्तीय संस्थालाई भनेको छ। साथै, निष्क्रिय खाताको दुरुपयोगमार्फत हुन सक्ने मनी म्युल कारोबार तथा अन्य वित्तीय अपराधबारे जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा सूचना र सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्ता वित्तीय अपराधको पहिचान, रोकथाम र न्यूनीकरणका लागि बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने दायित्वसमेत राष्ट्र बैंकले तोकेको छ।