ललितपुर । डायनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोकको १८औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठको अध्यक्षतामा शनिबार साधारण सभा सम्पन्न भएको हो। सभामा संस्थाका उपाध्यक्ष रविशंकर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए।
साधारण सभामा आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। यस्तै, आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तावित कार्ययोजना र अनुमानित आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो।
संस्थाका सचिव नरेन्द्र शाक्यले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। लेखा सुपरीवेक्षण समितिका संयोजक शंकरप्रसाद श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो। कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष राजेन्द्र शाक्य र सञ्चालक समिति सदस्य सुरेन्द्र शाक्यले पनि धारणा राखेका थिए।
अध्यक्ष श्रेष्ठले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको वर्तमान अवस्था र डायनामिक साकोसको आगामी रणनीतिबारे जानकारी गराएका थिए। उनले संस्थाले आगामी दिनमा सदस्यको हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
श्रेष्ठका अनुसार संस्था वाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले सञ्चालन गरेको ‘कोसिस’ कार्यक्रममा आबद्ध छ। संस्थाले सहकारीको संस्थागत विकास र दिगोपनाका लागि कार्यक्रममा प्राप्त स्वनियमनका प्रावधानहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।
अधिवेशनले नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति पनि निर्विरोध चयन गरेको छ। सात सदस्यीय सञ्चालक समितिको अध्यक्षमा पुष्पप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रविशंकर श्रेष्ठ, सचिवमा शंकरप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा यशोदा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। सदस्यमा नरेन्द्र शाक्य, शिव श्रेष्ठ र रुद्रकुमारी बस्नेत निर्वाचित भएका छन्।
त्यस्तै, लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्मलकुमार बराल तथा सदस्यमा रेखा श्रेष्ठ र विशाल शाक्य निर्विरोध निर्वाचित भएका छन्।