काठमाडौँ । नेपालमा मनसुनी वायु र पश्चिमी वायुको प्रभाव एकैपटक देखिएको छ। यही कारण आगामी दिनमा देशका केही भूभागमा वर्षाको गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यूनचापीय प्रणाली विकास भएको छ। उक्त प्रणाली विस्तारै बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ। यसको प्रभावले नेपालमा पनि वर्षा बढ्न सक्ने अनुमान गरिएको हो।
सोमबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा मौसम बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बादल लाग्ने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण सडक तथा यातायात प्रभावित हुनसक्ने, पहिरो तथा आकस्मिक बाढीको जोखिम बढ्नसक्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
हाल कोशी र बागमतीका अधिकांश भूभागमा बदली छ। गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा पनि बादल लागेको छ। केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।