Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

नेतृत्व पुनर्गठनको बहसबीच एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै

नेतृत्व पुनर्गठनको बहसबीच एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै

दैनिकी न्यूज

५, आश्विन २०८३
नेतृत्व पुनर्गठनको बहसबीच एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै
images

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने बैठकमा पछिल्लो निर्वाचनको समीक्षा, पार्टी पुनर्गठन र संगठनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने तयारी छ।

केन्द्रीय कमिटी बैठकअघि पार्टी सचिवालयले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमाथि छलफल गरेको छ। कार्यदलले विभिन्न प्रदेश तथा तल्लो तहबाट आएका सुझाव समेटेर प्रतिवेदन तयार गरेको छ।

एमालेभित्र पछिल्लो समय पार्टी पुनर्गठनको विषय प्रमुख बहस बनेको छ। विशेषगरी निर्वाचनमा पार्टीले व्यहोरेको परिणामपछि नेतृत्व, संगठन र कार्यशैलीमा परिवर्तन आवश्यक रहेको आवाज उठ्दै आएको छ।

कार्यदलमा नेतृत्व पुनर्गठनको विषयलाई लिएर फरक–फरक धारणा सहितका प्रतिवेदन आएका थिए। महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनमा नेतृत्व पुनर्गठनको विषय समेटिएको थियो भने उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पक्षबाट तयार प्रतिवेदनमा तत्काल नेतृत्व परिवर्तनको आवश्यकता नरहेको धारणा राखिएको थियो। पछि दुवै प्रतिवेदनका साझा विषय समेटेर एउटै प्रतिवेदन बनाउने सहमति भएको थियो।

पछिल्लो सहमतिअनुसार तत्काल अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तनको विषयलाई मूल प्रतिवेदनबाट हटाएर पुनर्गठनसम्बन्धी सुझावलाई अनुसूचीमा राखिएको छ। त्यसलाई केन्द्रीय कमिटीमा छलफलको विषय बनाउने तयारी छ।

यससँगै आजदेखि सुरु हुने बैठकमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरण, संगठन पुनर्गठन र निर्वाचन परिणामको समीक्षा कसरी अघि बढ्छ भन्ने विषयमा विशेष चासो देखिएको छ।

पार्टीभित्र नेतृत्व परिवर्तनको माग गर्ने र तत्काल नेतृत्व परिवर्तन आवश्यक नरहेको धारणा राख्ने नेताबीच मतभेद कायमै रहेकाले बैठकलाई एमालेको आन्तरिक राजनीतिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

यसअघि एमालेभित्र गरिएको एक सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा ठूलो मत देखिएको थियो। यद्यपि उक्त सर्वेक्षण पार्टीको आधिकारिक निर्णय वा धारणा भने होइन।

बैठकले निर्वाचन परिणामको समीक्षा गर्दै आगामी दिनमा पार्टीको संगठनात्मक संरचना, नेतृत्व र कार्यशैलीबारे कस्तो दिशानिर्देश तय गर्छ भन्ने विषयलाई अहिले चासोका साथ हेरिएको छ।

images
प्रकाशित मिति :आश्विन ५, २०८३ सोमवार - ०७:३६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology