ललितपुर । काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडकखण्डको ललितपुरतर्फ दुई स्थानमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बागमती गाउँपालिका–३ पाङ्धुर र गोदावरी नगरपालिका–टिकाभैरवमा पहिरो खसेको हो ।
पाङ्धुरमा बिहीबार बेलुका पहिरो खसेको थियो भने टिकाभैरवमा शुक्रबार बिहान पहिरो खसेको प्रहरीले जनाएको छ। पहिरोका कारण आज दिनभर नै सडक अवरुद्ध हुने प्रहरीले जनाएको छ।
सडक माथिबाट पहिरो खसेर यातायात पूर्णरूपमा रोकिएको हो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यता, मकवानपुरतर्फको कान्तिलोकपथ सडकखण्डमा भने हालसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जनाएको छ।