काठमाडौं । नेपालमा अहिले मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा कमजोर हुने क्रममा छ।
यसको प्रभावले देशभरको मौसम बदली भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। बागमतीका केही तथा कोशी र मधेसका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशभर अधिकांश भूभागमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा पनि धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा वर्षाको सम्भावना छ। मधेस तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा समेत केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। कोशी र बागमतीका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
त्यस्तै मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका केही स्थानमा हावाहुरी चल्नसक्ने सम्भावना रहेको छ।
शनिबार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश भूभागमा बादल लाग्नेछ। कोशी र मधेसमा भने सामान्यतया बादल लाग्ने पूर्वानुमान छ।
रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा वर्षा हुनसक्नेछ। बागमतीका हिमाली तथा पहाडी भूभागका धेरै र कोशीका केही स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा तथा मधेसका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।