Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

बाढीपहिरोको कहर : काठमाडौँ जोड्ने मुख्य सडक बन्द

बाढीपहिरोको कहर : काठमाडौँ जोड्ने मुख्य सडक बन्द

दैनिकी न्यूज

१०, आश्विन २०८३
बाढीपहिरोको कहर : काठमाडौँ जोड्ने मुख्य सडक बन्द
images

काठमाडौँ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक भासिने क्रमका कारण काठमाडौँ उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथलगायत मुख्य मार्गमा अवरोध भएपछि उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीसाधनको आवागमन प्रभावित बनेको हो।

मुख्य सडक बन्द भएपछि अहिले उपत्यका आवतजावतका लागि त्रिभुवन राजपथमा बढी निर्भरता बढेको छ। त्यसका कारण उक्त सडकमा सवारीको चाप अत्यधिक बढेको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा अत्यावश्यकबाहेक लामो दूरीका सवारी सञ्चालनमा रोक लगाएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन्।

सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्नुका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित भएको छ। लामो समयसम्म सडक सञ्चालनमा आउन नसके आपूर्ति व्यवस्थामा थप दबाब पर्न सक्ने देखिएको छ।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो
धादिङ खण्डमा लगातारको वर्षापछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीर, वडा नम्बर १० को तिग्राडखानी तथा ज्वाङखोला, वडा नम्बर ९ को ज्यामिरेघाट र गजुरी गाउँपालिका–२ को परेवा भिरमा सडक प्रभावित भएको छ।

कृष्णभीरमा ठूला ढुंगासहित पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। केही दिनअघि मात्रै बाढीबाट क्षतिग्रस्त उक्त क्षेत्रमा नयाँ बाटो निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि आवागमन रोकिएको हो।

तिग्राडखानीमा पनि दुईतर्फी आवागमन प्रभावित भएको छ। ज्यामिरेघाट, परेवा भिर र ज्वाङखोलालगायत स्थानमा पहिरो तथा ढुंगा खसेपछि सडक सञ्चालनमा समस्या भएको प्रशासनले जनाएको छ। पहिरो पन्छाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण काम प्रभावित भइरहेको छ।

धादिङमा भारी वर्षाको सम्भावना कायमै रहेकाले प्रशासनले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

बीपी राजमार्ग पनि पूर्ण रूपमा बन्द
काभ्रेपलाञ्चोकतर्फ बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नमोबुद्ध–६ को चौकीडाँडा तथा रोशी गाउँपालिका–७ को चारसयबेँसी, वडा नम्बर ८ को गिम्दीबेँसी र वडा नम्बर ११ को माम्ती क्षेत्रमा पहिरो खसेको जनाइएको छ।

रोशी खोलामा पानीको सतह बढेपछि राजमार्ग आसपासका क्षेत्रमा थप जोखिम देखिएको छ। निरन्तर वर्षाका कारण पहिरो पन्छाउने कामसमेत प्रभावित भएको छ।

कान्ति लोकपथमा पनि आवागमन ठप्प
काठमाडौँलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथसमेत पहिरोका कारण अवरुद्ध छ। विभिन्न स्थानमा पहिरो खसेपछि उक्त मार्गबाट हुने आवागमन रोकिएको हो।

मुख्य सडकहरू बन्द भएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ। सडकको क्षमता र जोखिमलाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनका लागि निश्चित समय तोकेको छ।

हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीलाई छुट्टाछुट्टै समयमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ। अत्यधिक भार भएका ठूला मालवाहक सवारीलाई भने आवागमनमा रोक लगाइएको छ। इन्धन तथा खाना पकाउने ग्यास बोकेका सवारीलाई छुट्टै व्यवस्था गरिएको छ। यात्रुवाहक बसका हकमा निश्चित लम्बाइसम्मका बसलाई मात्र सञ्चालन अनुमति दिइएको छ।

वैकल्पिक मार्गमा पनि सहज छैन आवागमन
काठमाडौँबाट बाहिरिने साना सवारीलाई दक्षिणकाली–फाखेल तथा टोखा–छहरे हुँदै नुवाकोटतर्फ पठाउने व्यवस्था गरिएको भए पनि सबै वैकल्पिक मार्ग सुरक्षित अवस्थामा छैनन्। दक्षिणकाली–सिस्नेरी सडकसमेत वर्षाका कारण प्रभावित भएको छ।

मुख्य राजमार्गमा रोक लगाइएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेकाले प्रशासनले आलोपालो प्रणाली लागू गरेको हो। यसबाट सडकमा हुने भीड व्यवस्थापन गर्ने प्रयास गरिएको छ।

देशका अन्य सडकमा पनि बाढीपहिरोको असर
लुम्बिनी प्रदेशमा बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा नजिकै पहिरो खसेपछि आवागमन प्रभावित भएको छ। पाल्पाको तिनाउ क्षेत्रका विभिन्न स्थानमा पनि पहिरोका कारण सडक बन्द भएको छ। गुल्मीको कालीगण्डकी करिडोर र रोल्पाको घोराही–थवाङ सडकखण्डसमेत प्रभावित छन्।

कोशी प्रदेशमा ओखलढुंगाको सिद्धिचरण लोकमार्गअन्तर्गत भँडारे खोलामा आएको लेदो तथा बाढीले सडकको केही भाग बगाएपछि आवागमन रोकिएको छ। सुनसरीको चतरा–बराहक्षेत्र सडकमा पनि पहिरोका कारण समस्या भएको छ।

बागमती प्रदेशका पासाङल्हामु राजमार्ग, मैलुङ–स्याफ्रुबेंसी सडक र कालुपाण्डे राजमार्गमा समेत बाढी तथा पहिरोको असर परेको छ। गृह मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर १४ वटा राजमार्ग तथा सडकखण्ड बाढी, पहिरो, लेदो र सडक भासिनेलगायत कारणले प्रभावित भएका थिए।

सडक खुलाउन उपकरण तयारी अवस्थामा
सडक विभागले वर्षा र विपद्को अवस्थालाई ध्यानमा राख्दै अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन विभिन्न स्थानमा ठूला उपकरण तयारी अवस्थामा राखेको जनाएको छ। जोखिमयुक्त क्षेत्रमा उपकरण, इन्धन र प्राविधिक जनशक्ति परिचालन गरिएको छ।

विभागको कार्ययोजनाअनुसार सडक अवरुद्ध भएको अवस्थामा आवश्यक उपकरण छिटो घटनास्थलमा पुर्‍याएर सकेसम्म चाँडो आवागमन सञ्चालन गर्ने लक्ष्य राखिएको छ। तर निरन्तर वर्षा र पहिरो खस्ने क्रम नरोकिँदा कतिपय स्थानमा सडक खुलाउने काम चुनौतीपूर्ण बनेको छ।

सडक विभागले उपकरण सञ्चालनमा इन्धनको अभाव हुन नदिन आवश्यक भण्डारणको व्यवस्था गरेको तथा इन्जिनियर, प्राविधिक कर्मचारी र उपकरण चालकलाई फिल्डमा परिचालन गरेको जनाएको छ। सरकारी उपकरण पर्याप्त नभए निजी क्षेत्रका ठूला उपकरणसमेत तत्काल प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको विभागको भनाइ छ।

images
प्रकाशित मिति :आश्विन १०, २०८३ शनिवार - ०७:३२:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology