Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ठूलाधनीसँग चुके

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ठूलाधनीसँग चुके

दैनिकी न्यूज

१, पौष २०७४
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ठूलाधनीसँग चुके
images

ललितपुर, पुस १ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्थानीय तहको निर्वाचन जित्नु अघि ठूला करदाताहरुलाई करको दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए । तर निर्वाचन सम्पन्न भएको पनि झण्डै ८ महिना बितिसक्दा पनि ठूला करदातालाई करको दायरामा ल्याउन सकेका छैनन ।

राजनीतिक दलको प्रभावपरि कर उठन उनले चासो दिएका छैनन । मेयर चिरीबाबु महर्जनले कर असुलीका लागि राजस्व महाशाखा र कानुन शाखा प्रमुखसँग छलफल गरिरहेको बताए । ‘पहिलो चरणमा करको दायरमा आउन सबैलाई आग्रह गर्छौं,’ उनले भने, ‘अटेर गर्नेलाई पहिलो कारबाहीस्वरूप घरको टेलिफोन र पानीको सुविधा काट्ने, फोहोर नउठाउने गर्नेछांै ।’ उनले त्यसपछि पनि नमान्नेलाई घरजग्गा बिक्री तथा बैंक धितो राख्न रोक र सरकारी सेवा सुविधाबाट वञ्चित गरिने बताए । महानगरपालिकामा लगभग १ लाख घरधुरी छन् । तीमध्ये १०/१२ हजार घरले मात्र कर तिरेका छन् ।

महानगरका अनुसार यी निकायले कर तिरेमा महानगरपालिकाको लक्ष्यभन्दा बढी कर संकलन हुनेछ । कर छलीका कारण महानगरलाई बर्सेनी करोडौं रुपैयाँ राजस्व घाटा भइरहेको छ । व्यावसायिक प्रयोजनका लागि घर भाडामा दिने व्यक्तिले पनि वास्तविकभन्दा निकै कममा बहाल सम्झौता भएको देखाएर कर छल्ने गरेका छन् । स्थानीय स्वायत्त शासन नियमावलीअनुसार सरकारी तथा निजी स्वामित्वमा रहेका कुनै पनि संस्थाले आफ्नो भवन व्यावसायिक प्रयोजनका रूपमा प्रयोग गरे कर तिर्नुपर्ने कानुनी प्रावधान छ ।

महानगरले कुपन्डोलदेखि सातदोबाटोसम्म, मंगलबजारदेखि लगनखेलसम्मको मूल सडकमा रहेका घरजग्गा व्यावसायिक प्रयोजनका लागि जग्गा भाडामा दिए प्रतिआना १० हजार, चक्रपथ ट्रयाकमा ८ हजार, पुल्चोकदेखि मंगलबजार हुँदै ग्वार्कोसम्म, जावलाखेल बाल संगठनदेखि भनिमण्डल हुँदै रिङरोडसम्म, पुल्चोकस्थित विद्युत् प्राधिकरणदेखि सानेपा चोकसम्मका सहायक सडकमा ७ हजार, कच्ची सडकमा २ हजार र गोरेटो बाटोमा १ हजार रुपौयाँसम्म करको दर कायम गरेको छ ।

बहालमा दिएका घर, पसल, ग्यारेज, टहरा, सेड (छप्पर), कारखाना, जग्गा आदिबाट २ प्रतिशत कर असुलउपर गर्ने कानुनी व्यवस्था छ । महानगरमा झन्डै ५ सयभन्दा बढी वित्तीय संघसंस्था छन् । यीमध्ये करिब ९० प्रतिशतले कर नतिर्ने महानगरका अधिकारीहरू बताउँछन् । यसैगरी ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठूला घरधनीहरूको नाम सार्वजनिक गरेको छ । महानगरपालिकाका अनुसार जिल्लामा हाउजिङ कम्पनी, नाम चलेका स्कुल, कलेज, अस्पतालदेखि ठूला सपिङ मल, होटल, सिनेमा हलसम्मले घर बहाल तथा सम्पत्ति करबापत महानगरपालिकालाई तिर्नुपर्ने करोडौं रुपैयाँ तिरेका छैनन् ।

महानगरपालिकाका अधिकारीहरूका अनुसार साझा यातायात, कर्मचारी सञ्चय कोष, राष्ट्रिय सहकारी विकास बोर्ड, भाटभटेनी सुपरमार्केट, लिटल एन्जल्स स्कुलले कर तिरेका छैनन् । त्यस्तै जावलाखेलको डीएभी, आदर्श विद्या मन्दिर, जेम्स स्कुल, हिमालय कलेज, अल्का अस्पताल, सुमेरु अस्पताल, पाटन अस्पताल, सवाङ्ग नर्सिङ होम र किस्ट हस्पिटल पनि महानगरपालिकालाई कर नतिर्नेहरूको सूचीमा छन् । यीबाहेक सातदोबाटोको सेल्सबेरी, पुल्चोकको लबिम मल, कृष्ण गल्लीस्थित पञ्चकन्या गु्रपको मुख्यालय, झम्सिखेलको बिगमार्ट सुपरमार्केट, ग्वार्कोको गुण सिनेमा हल, हरिसिद्धिको नेसनल क्यान्सर अस्पताल, ग्लोबल अस्पतालले पनि कर छलिरहेको महानगरपालिकाका अधिकारी बताउँछन् । महानगरपालिकाका अधिकारीहरूका अनुसार निर्वाचित जनप्रतिनिधिले कडाइ गर्ने हो भने करबापत अर्बौं रुपैयाँँ उठाउन सकिन्छ ।

images
प्रकाशित मिति :पौष १, २०७४ शनिवार - १९:३७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology