ललितपुर, माघ ११ । ललितपुर खुमलटारमा रहेको रेडियो नेपालको जग्गा भाडामा लगाउने केसले ललितपुर महानगरपालिकासँग विवाद बढेको छ । रेडियो नेपालले सातदोबाटो तर्फको ४२ रोपनी जग्गा कुबेर ज्ञान हाउजिङ्ग कम्पनी प्रा.लि.लाई भाडामा दिने निर्णय गरेपछि कात्तिक २२ गते महानगरपालिकाले पत्र लेखि उक्त जग्गा खुल्ला राख्न र विपत्तिको बेलामा प्रयोग गर्न दिन गरेको आग्रह रेडियो नेपालले अस्वीकार गरेपछि विवाद बढेको हो ।
महानगरपालिका वडा नम्बर १५ मा स्थानीय तहको चुनावबाट नयाँ जनप्रतिनिधि आएपछि उनीहरुले रेडियो नेपाललाई औपचारिक पत्र लेखेर २०७२ साल बैशाखमा गएको विनासकारी भूकम्पको बेलामा पनि सोही रेडियो नेपालको जग्गा प्रयोग गरेको हुँदा खाली जग्गामा अनावश्यक भाडामा लगाउन नहुने सहित पत्र पठाएको थियो तर, महानगरपालिकोको उक्त पत्रको रेडियो नेपालले २ महिना १६ दिनपछि जवाफ फर्काउँदै खाली जग्गा राख्न नसक्ने बताएको हो ।
रेडियो नेपालले पठाएको जवाफी पत्रमा वडा नम्बर १५ मा रहेको मूल सडकको उत्तर तर्फको ४२ रोपनी जग्गा समितिको सञ्चालक समितिको निर्णयले भाडामा दिइसकेको हुँदा महानगरले भनेको जस्तो विपद व्यवस्थापनका लागि प्रयोग गर्न दिन नसकिने उल्लेख छ । प्रशासन प्रमुख बुद्धिबहादुर केसीद्वारा हस्ताक्षरित उक्त पत्र पाएपछि महानगरपालिकाका जनप्रतिनिधिहरु असन्तुष्ट भएका छन् । चुनावबाट जनताले पठाएका जनप्रतिनिधिलाई अटेरी गरेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
१५ नम्बर वडाका वडाअध्यक्ष सुदर्शन मिश्रले पत्रको अध्ययन कार्य भइरहेको बताउँदै केही दिनभित्रै महानगरले ठोस निर्णय गर्ने बताए । रेडियो नेपालको उक्त जग्गा भाडामा लगाउँदा अनियमितता गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन अघि बढाएको छ । स्रोतका अनुसार उक्त जग्गा भाडामा दिँदा ठूलो रकम अनियमितता भएको छ । हेर्नुहोस पत्र
