ललितपुर, फागुन २३ । जिल्ला अदालत ललितपुरले बलात्कार आरोप लागेका पूर्वडिएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार साँझ ५ बजे भक्तपुरबाट नियन्त्रणमा लिएको हो । अदालतले बुधबारबाटै लागू हुनेगरी सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिइन ।
परिसरकी एसपी सिंहका अनुसार अदालतले खिउजूलाई सात दिनको म्याद थप गरी अनुसन्धान गर्ने अनुमति दिएको छ । ललितपुरको ठुलादुर्लङ घर भएकी २२ वर्षीया युवतीलाई पटकपटक करणी गरेको बेहोराको उजुरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ पुर्जी जारी गरेको थियो ।
महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरी प्रमुख रहेका बेला पूर्वडीएसपी खिउजूले आफूमाथि पटकपटक यौनहिंसा गरेको ती युवतीको आरोप छ। २०७६ साउनमा सरुवा भई मोरङ पुगेका खिउजूले चापागाउँ रहँदा पटकपटक यौनहिंसा गरेको आरोप लगाएर ती युवतीले उजुरी दिने थाहा पाएपछि गत पुसमै राजीनामा दिएका थिए।
सुरक्षा गार्डको जागिर खान नजिकको प्रहरीबाट सिफारिस आवश्यक परेकाले ती युवती खिउजुको सम्पर्कमा पुगेकी थिइन् । चापागाउँमा डेरा गरी बस्ने ती युवतीले सोही समय खिउजुले आफ्नै कार्यकक्षमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख गरेकी छिन् । त्यसयता आफ्नो डेरामा पुगेर र आफ्नो नग्न तस्वीर र भिडियो खिची धम्क्याउँदै पटकपटक यौनशोषण गरेको ती युवतीको दाबी छ ।