Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राहत सामग्री लिएर ललितपुरका ७१ वटा वडा पुगे दाहाल

राहत सामग्री लिएर ललितपुरका ७१ वटा वडा पुगे दाहाल

दैनिकी न्यूज

२०, बैशाख २०७७
राहत सामग्री लिएर ललितपुरका ७१ वटा वडा पुगे दाहाल
images

ललितपुर, बैशाख २० । हरि दाहाल, सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्लाका इन्चार्ज । यतिबेला उनी जिल्लाका विभिन्न स्थानमापुग्ने चटारोमा छन् ।

कोरोनाले सबैखालका भेटघाट बन्द गरेर नेताहरु घरमै बसिरहेका बेला उनी भने जिल्लामा सक्रिय छन् । 'त्रास र संकटका बेलामा नेतृत्व चुपलागेर बस्नु हुँदैन जनताले हामीलाई नेता बनाएको यस्तै संकटका बेला साथ दिन्छन् भनेर हो', दैनिकीन्युजसँग शनिबार विहान दाहालले भने, 'यही बेलामा सबै ढोका बन्द गरी घरमा बस्दा जनताले के भन्छन् ? के चुनावमा मात्र जनता चाहिने हो र ?' शनिबार विहान उनी स्यानिटाइजर, हातमा ग्लोव र मास्क सहित भेटिएका थिए ।

जिल्लाका नेपालीको अवस्था के छ ? खान नपाएर भोकै बसेका कति छन्, तिनीहरुको व्यवस्थापनको लागि वडाका जनप्रतिनिधिसँग छलफल गरेर आएको उनले सुनाए । कोरोनाको संक्रमण हुन नदिन सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरायो । मानिस घरबाहिर निस्कन पाएका छैनन् । गाउँबाट आउने सामान ठप्प छ भने शहरबाट पनि सामानहरु गाउँ पठाउन रोकिएको छ ।

कोरोनाको कारण शहरमा मात्रै होइन, गाउँमा समेत त्रास छ । यस्तो अवस्थामा जनतालाई खाद्य सामग्रीको अभाव हुन नदिन र कोरोनाको कारण मानिसहरुमा उत्पन्न मानसिक त्रास हटाउन मरिमेटर लागेको दाहालले दैनिकीन्युजलाई बताए । लकडाउन भएको दोस्रो हप्तादेखि जिल्लाका दक्षिणी गाउँमा खाद्यान्न अभाव हुने विश्लेषण गरेर उनले घरदैलो जान सुरु गरेका थिए । 'जिल्लाका ६ वटै स्थानीय तहका ७१ वटा वडामा पुगे', शनिबार दैनिकीन्युजसँग कुरा गर्दै दाहालले भने, 'लकडाउनले त्रासमा रहेका जनतालाई नआत्तिन र धैर्य गर्न आग्रह गरी केही राहत दिएर फर्किएको छु ।' कोञ्जोसोम गाउँपालिकाको दलचोकीबाट सुरु गरेको बताउने उनी वाग्मती गाउँपालिका, महाँकाल गाउँपालिकाका सबै वडामा पुगेर जनताको कुरा सुनेको दाबी गर्छन् ।

प्युटार, गिम्दी, देबीचौर, गाटीखेल, घुसेल, इकुडोल चन्दनपुर हुँदै गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा जनताको पछिल्लो अवस्थाबारे सबै जानकारी लिएको उनले बताए । 'तीनवटा गाउँपालिका र दुईवटा नगरपालिकामा पुगे, जनताले कोरोना त्रास रहेको बताउनुभयो, अब खाद्यान्न अभाव सुरु होला भन्ने विश्लेषण गरेर आवश्यक पर्ने ठाउँमा राहत प्याकेज दिएर आएका छौं', उनले भने । प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, प्रदेश सांसद लालकुमारी पुन, राजकाजी महर्जन र चेतनाथ सञ्जेललाई लिएर आफू जिल्लाका थुप्रैको घरमा पुगेको दाहालले जानकारी दिए ।

'लगातार परेको पानीले गाउँमा अलि समस्या पार्ने देखिन्छ', दाहालले भने, 'कच्ची सडक सबै विग्रने खतरा छ, सडक मर्मत गर्न मिल्नेगरी डोजरलाई तयारी राख्न गाउँपालिकासँग समन्वय गरिरहेको छु ।' कोरोनाको कारण लकडाउन भएपछि गाउँमा समस्या पर्ने हुँदा आफूले त्यहाँको बस्तुस्थिति बुझेको र त्यसलाई अब पार्टीको सचिवालय बैठकमा राख्ने उनको भनाई छ ।

आफूले गाउँमा जाँदा राजनीतिक कुरा नगरेको र यस्तो संकटको बेला त्यसो गर्न नहुने उनी ठान्छन् । तीनवटा गाउँपालिकाबाट १५ दिनपछि फर्किएका दाहाल त्यसपछि गोदावरी र महालक्ष्मी नगरपालिकामा व्यस्त रहेको बताउँछन् । 'यता आएपछि रक्तदानको कार्यक्रम, राहत वितरण, राहतको लागि लगत संकलनको काम गर्न थाले,अहिले खान नपाएर समस्यामा परेकाहरुलाई तत्काल खाना खुवाउन सकिने व्यवस्था मिलाइएको छ', उनले थपे, 'त्यसका लागि ललितपुर महानगरपालिकाको सबै वडाअध्यक्षसँग समन्वय गरेको छु ।' अहिलेसम्म ३ वटा वडाले दैनिक मजदूरी गर्ने र समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् । विहान र बेलुका खाना खुवाइएको छ ।

images
प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - १४:३३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology