Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रहरीको रासनभत्ता बढाउन अध्ययन समिति गठन

प्रहरीको रासनभत्ता बढाउन अध्ययन समिति गठन

दैनिकी न्यूज

२, पौष २०७७
प्रहरीको रासनभत्ता बढाउन अध्ययन समिति गठन
images

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता समयानुकूल बनाउन गृह मन्त्रालयले एक समिति गठन गरेको छ । सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा गठन गरिएको समितिमा अर्थ मन्त्रालय र दुवै प्रहरीका प्रतिनिधि छन् ।

समितिले प्रहरीको रासनभत्ताबारे अध्ययन गरेर मन्त्रालयलाई सुझाब दिनेछ । अहिले अध्ययनको काम भइरहेको सहसचिव गौतमले बताए । नेपाल प्रहरी र सशस्त्रका कर्मचारीले पाँच वर्ष अघिको दररेटअनुसार रासनभत्ता बुझ्दै आएका छन् । यस अवधिमा करिब ४० प्रतिशत मूल्यवृद्धि भए पनि पुरानै रासनभत्ताका कारण खानै नपुगेको गुनासो उनीहरूले गर्दै आएका छन् । ०७२ माघमा कायम भएको दररेट अनुसार नै अहिलेसम्म रासनभत्ता वितरण हुँदै आएको छ ।

रासनभत्ता बढाउन गृह मन्त्रालयले पटक–पटक प्रस्ताव गरे पनि अर्थ मन्त्रालयले अस्वीकार गर्दै आएको छ । गत वर्ष बजार मूल्य अनुसार रासनभत्ता दिन पुग्ने गरी प्रहरीलाई निकासा भए पनि त्यसमा सरकारले नीतिगत सहमति नदिँदा नयाँ दररेट अनुसार वितरण हुन सकेन । यो वर्ष कोरोना महामारी नियन्त्रणमै धेरै बजेट खर्च हुने भएकाले अर्थले त्यसमा सहमति दिएन ।

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको बजार भाउ मूल्यांकन समितिले तय गर्ने दररेट अनुसार रासनभत्ता दिने निर्णय ०७२ सालमा भएको थियो । तर, त्यस अनुसार बजेट निकासा हुन सकेको छैन । हाल हरेक जिल्लामा सुरक्षाकर्मीको रासनभत्ता फरक–फरक छ । नेपाली सेनाले भने हरेक वर्ष ठेक्कामार्फत आफ्ना कर्मचारीलाई नगद नभई रासन नै दिने गरेको छ ।

यसअघि गृह मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको नेतृत्वमा समेत यस्तै समिति गठन भएको थियो । जसले हरेक दुई वर्षमा रासनभत्ता बढाउनु पर्ने सुझाब दिएको थियो । सो प्रतिवेदन कार्यान्वयन नगरी हाल नयाँ समिति गठन गरिएको हो ।

आगामी आर्थिक वर्षदेखि सम्भवतः सुरक्षाकर्मीको रासनभत्ता बढ्ने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । प्रहरीले भने माघदेखि नै बढाउन माग गरेको छ ।नयाँ पत्रिकाबाट

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०७:४८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology