काठमाडौं, चैत ९ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि उपत्यकाबाहेक अन्य ठाउँमा भोलिदेखि सार्वजनिक यातायात एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस रोकथामका लागि सरकारले भोलीदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको जानकारी गराएका थिए। सोहीबमोजिम यातायात व्यवस्था विभागले यस्तो तयारी गरेको हो। कानुनतः २५० किलोमिटरभन्दा धेरैलाई लामो दूरी भनिन्छ। हालको परिस्थतिमा यसलाई आधार मानेर कोरोना रोकथाम अभियानमा लाग्न कठिन हुने विभागले जनाएको छ।
निजीलाई रोक छैन
सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निजी सवारी साधन (कार, मोटरसाईकल, स्कुटी) चल्न पाउने उनले जानकारी दिए ।
उपत्यकाका तीन जिल्लामा यातायात सञ्चालन
काठमाडौ, ललितपुर र भक्तपुर तीन जिल्लामा भने सिमित मात्रामा सार्वजनिक सवारीका साधन सञ्चालन हुने छ । तर, ति सवारी साधनमा पनि अत्यावश्यक पर्दा मात्रै यात्रा गर्न सरकारले आग्रह गरेको छ ।