ललितपुर । ललितपुरमा कोरोनाबाट संक्रमित २३ वर्षीय महिला बसेको क्षेत्रमा अहिलेसम्म सील गरिएको छैन । धरान सुनसरीकी ती महिलामा कोरोना भएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । संक्रमित भेटिएको ललितपुर महानगरपालिका २७ नख्खुखोला किनारमा बस्दै आएकी ती महिला बसेको स्थानवरपर अरुलाई संक्रमण नफैलियोस भनेर सील गर्नुपर्ने भएपनि अहिलेसम्म त्यसो गरिएको छैन ।
सुत्केरी ती महिला ५ जनाको परिवारसहित बस्दै आएकी छिन् । दैनिकीन्युज टीमले संक्रमित महिला बस्ने स्थान वरपर महानगरपालिकाका जनप्रतिनिधि, प्रहरी र जनस्वास्थ्य कार्यालयले के गर्दैछ भनेर बुझ्ने प्रयास गरेका छौं । शनिबार कोरोना पुष्टि भएपछि आइतबार विहान ९ः३० बजेसम्म प्रहरी सबैभन्दा बढी अन्यौलमा रहेको थियो । कहाँको प्रहरी युनिटले सो क्षेत्रलाई हेर्ने भन्नेमा प्रहरी अन्योलमा थियो ।
यसो भन्छन् २७ का वडा अध्यक्ष बाबुराजा महर्जन
शनिबार करिब ४ बजेको समय थियो होला । सुनाकोठी क्षेत्रमा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षकसहितको टोली आउनु भएको रहेको छ । स्वास्थ्यको डा.खगेश्वर गेलालले मलाई फोन गर्नुभयो । तपाई कता हुनुहुन्छ ? तुरुन्त भेट गर्नुपर्यो भन्नुभयो । मैले सोधेँ किन सर ? म सुनाकोठीमै छु । तपाईको एरियामा एक जना मान्छे कोरोना संक्रमित भएको पुष्टि भएको छ, ठाउँ देखाइदिनु पर्यो भन्नुभयो ।
म पनि उहाँसँग सो स्थानमा गएँ । त्यो ठाउँ ललितपुर महानगरपालिका वडा नं. २७ र २२ को सिमाना नख्खुखोला हो, अलि एकान्त ठाउँ छ । अरु मानिसको त्यति आउ जाउ नहुने ठाउँ हो त्यो ।
हाम्रो टोली पुग्नेवित्तिकै ती महिला रुन थालिन । उहाँहरु संक्रमित महिलाको श्रीमान, बहिनी, बहिनीको श्रीमान् र सासुलगायत गरी ५ जना बस्नु हुँदोरहेछ । हामी पुग्दा टहरामा उहाँको श्रीमान मात्र थिए । अरु तरकारी फार्ममा काम गर्दै रहेछन् । महिला रुन थालेपछि गेलाल सरले ती महिलालाई सम्झाइ बुझाइ गर्नुभयो । हात धुने तरिका, सुरक्षित हुने उपाय सिकाइदिनु भयो ।
त्यसपछि उहाँले एम्बुलेन्स बोलाउनु भयो, ४५ मिनेटपछि एम्बुलेन्स आयो । एम्बुलेन्समा ती महिलालाई पाटन अस्पताल लगियो । सुनाकोठी क्षेत्रलाई सुरक्षित बनाउन जनप्रतिनिधिको हैसियतले मैले युवाहरुलाई परिचालन गरेर दिनरात खटिरहेका छौ । केहीदिनअघि भारतबाट एक हुल मानिस आएपछि हामीले तीनिहरुलाई घर फर्कादियौं ।
जनचेतनाको कार्य पनि गरिरहेका छौं । तर, नयाँ मानिसको आवागमन नभएको त्यो ठाउँमा कसरी ती महिला संक्रमित भइन भन्ने हाम्रो चासो छ । १२ गते दिएको स्वाबको रिपोर्ट १७ गते आयो । स्वाबको रिपोर्ट नआउँदै किन किष्ट हस्पिटलले ती महिलालाई डिस्चार्ज गरेको हो ? अस्पताल व्यवस्थापनको लापरबाही हो की ? मेरो प्रश्न त्यहाँ छ ।
धन्न मुख्य शहरको नेवार समुदायका महिलामा देखिएन । नेवार समुदायको भए धेरै मानिसको ओहोर दोहोर हुन्थ्यो । धेरै मानिस संक्रमित हुने खतरा हुन्थ्यो ।
कसको एरिया हो भन्ने मै प्रहरी अन्योलमा
सुनाकोठीमा एकजनामा कोरोना संक्रमित भएको समाचार आएपछि प्रहरीमा खैलाबैला मच्चियो । दैनिकीन्युज टीमले प्रहरीलाई फोन गर्यो । चापागाउँ वृत्त, सातदोबाटो वृत्त, बुंगमती प्रभागमा । सबैले आफ्नो एरिया नभएको बताए । अन्ततः महनगरीय प्रहरी परीसर जावाखेलले सातदोबाटोको एरिया पर्ने निर्देशन दियो । त्यसपछि प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा स्वास्थ्यको टिमसँग पुग्यो । ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले स्वास्थ्य सम्बन्धी सम्पूर्ण जिम्मेवारी जनस्वास्थ्य कार्यालयको भएको बताए । ‘हामीले कुनै अप्ठेरो परिस्थिति आयो भने उहाँहरुलाई सहयोग गर्ने हो’, राईले भने, ‘स्वास्थ्य कार्यालयको निर्देशनलाई हामीले मान्ने हो ।’ प्रहरीलाई स्वास्थ्यसम्बन्धी प्राविधिक ज्ञान नहुने उनले बताए । तर, ‘सो क्षेत्र सील गर्नु नपर्ने एकान्त ठाउँ रहेछ, उहाँहरु क्वारेन्टाइनमा बसेको जस्तै रहेछ’, एसएसपी राईले जवाफ दिए ।
र, जनस्वास्थ्य कार्यालयको जवाफ यस्तो छ
सुनाकोठीकी एक महिला संक्रमित भएको हामीले थाहा पाएसँगै हाम्रो टोली तत्काल त्यसतर्फ गएको हो । जनप्रतिनिधि, प्रहरी र हाम्रो रोहबरमा ती महिलालाई पाटन हस्पिटल ल्यायौं । तरकारी फार्म हाउस भित्रको टहरामा उहाँहरु ५ जना बस्नुहुँदो रहेछ । उहाँहरु बसेको ठाउँ पनि एक प्रकारको क्वारेन्टाइन जस्तै रहेछ । हामीले त्यस ठाउँ सील गर्नु नपर्ने निर्णयमा पुग्यौं । उहाँहरुको परिवारलाई सचेतना र सुरक्षाको उपाय जानकारी दियौं ।
हात धुनेदेखि कसरी सुरक्षित बस्ने लगाएतका कुरा पाँचैजना परिवारहरुलाई सिकायौं । ५ दिन पछि उहाँहरुको परिवारको सम्पर्क विवरण खोजी गछौं । उहाँको परिवारलाई मास्क, सेनिटाइजर जस्ता सामान दियौं । सरकारको अहिलेको नीति पनि संक्रमित देखिएपनि ४ घण्टा भन्दा बढी समय सिल गर्ने नपाउने भन्ने भएकाले बस्ती नभएको एकान्त ठाउँमा हामीले सील गरेनौं तर, उहाँहरुको सम्पर्कमा नियमित हुनेछौं ।
यो पनि पढ्नुहोस
को हुन्, ललितपुरमा शनिबार भेटिएका कोरोना संक्रमित ?
ललितपुरसहित ५३ जिल्लामा संक्रमण पुष्टि , २४ घण्टामा १ सय ८९ संक्रमित थपिए