काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६८८ जनामा पिसीआर परीक्षणमा १०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे शुक्रबार को नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको छ ।
आज काठमाडौंका १ र भक्तपुरका १ जना गरी काठमाडौं उपत्यकामा २मा संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार बिहीबार देशभर २२ हजार ७५६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ८७१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
आज २८५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
कोरोना संक्रमणबाट एक संक्रमितको मृत्यु
वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । बुधबार स्वास्थ्य समस्या आएपछि भर्ना भएका सप्तरी राजबिराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । उनमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्बाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।