काठमाडौं । मंगलबार राजधानीको कमलादीबाट आधा किलो सुनसहित चाँदी र पेस्तोल बरामद भएको प्रकरणमा गाडी कसरी उम्किन सफल भयो भन्ने प्रश्न उठेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
छानबिन समितिमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी किरण बज्राचार्य, एसपी सामेन्द्र सिंह राठौर, अपराध महाशाखाका डीएसपी दुर्गा दाहाल र परिसरका राजकुमार केसी रहेका छन् ।
मंगलबार बिहान प्रहरीले दुई थान पेस्तोलसहित आधा किलो सुन, साढे १४ किलो चाँदी बरामद गरेको जनाएको थियो। तर उक्त सामान बरामद गरे पनि गाडी भने भाग्न सफल भएको र अन्य निकायमा समेत जानकारी नभएपछि घटना रहस्यमय बनेको थियो।
प्रहरीले सार्वजनिक गरेको गाडी नम्बर समेत नक्कली भएको पत्ता लागेपछि छानबिन समिति गठन भएको हो।