ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ललितपुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ । शुक्रबार प्रचण्ड–नेपाल समुहको नेकपाले प्रमुख जिल्ला अधिकारी ढुण्डि प्रसाद निरौला मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएको हो ।

प्रधानमन्त्री ओलीले पौष ५ गते प्रतिनीधि सभा विघटन गरेपछि त्यसको विरुद्ध सडक संघर्ष गर्दै आएका नेकपाका नेता, कार्यकर्ताहरु नाराजुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर विरोध पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानको ठाडो उल्लघंन गरी असंबैधानिक, अलोकतान्त्रिक एवंम स्वेच्छाचारी ढंगवाट प्रतिनिधिसभाको विघटन गरी प्रतिगामी कदम चालेपछि त्यसप्रति घोर आपत्ती प्रकट गर्दै विरोध–पत्र बुझाइएको नेकपाका केन्द्रीय सदस्य हरि दाहाल ‘ललित’ले बताए ।
‘विरोध पत्रमा जुन संविधानको धाराको ब्याख्या गरेर प्रतिनीधि सभा विघटन गरिएको हो उक्त धाराको पुनःअध्ययनका लागि सो धाराको प्रतिलिपी सहित प्रमुख जिल्ला अधिकारी मार्फत विरोध पत्र पठाएका हौं,’ दाहालले भने ।
विरोध पत्र बुझाउँदै संघिय लोकतान्त्रीक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न र वर्तमान असंबैधानीक कदमलाई असफल पार्न जस्तोसुकै संघर्ष र बलिदानी गर्न समेत तयार रहेको दाहालले चेतावनी दिए ।
विरोध पत्रमा ओलीलाई भनिएको छ, ‘हामी अझै पनि तपाईलाई आफ्नो असंबैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिभिसभा सूचारु गरी संविधानलाई कृयाशिल बनाउने पक्षमा आउन अनुरोध गर्दछौं र सच्चिन अवसर प्रदान गर्दछौं ।’
विरोध पत्र बुझाउन नेकपाका केन्द्र्रय सदस्य सदस्य हरि दाहाल, प्रतिनिधि सभाका सदस्य कृष्णलाल महर्जन, बागमती प्रदेश सांसदहरु माधव पौडेल, जीवन खड्का, नेकपा बागमती प्रदेशका सदस्यहरु शिव प्रसाद कट्टेल, दिपेन्द्र श्रेष्ठ, गंगा पराजुली, श्रीगोविन्द महर्जन, महालक्ष्मी नगरपालिकाकी उपमेयर निर्मला थापा, नेकपा ललितपुरका नेताहरु न्हुन्छे महर्जन, सरोज डंगोल, हरिकृष्ण थापा, श्याम सिलवाल, कृष्णमान लामा, भक्तबहादुर दर्लामी मगर, बार ललितपुरका अध्यक्ष अर्जुन महर्जन लगायतका सयौं नेता, कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
उनीहरुले प्रधानमन्त्री ओलीको कदमका विरुद्ध जिल्ला प्रशासन कार्यालयको मुलगेटमा नाराजुलुस समेत प्रदर्शन गरेका थिए । विरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी निरौलाले विरोध पत्र प्रधानमन्त्री कार्यालयमा पठाइने बताए ।



