ललितपुर । ललितपुरमा चैत्र २५ देखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम सुरु गर्न लागिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुर प्रमुख सतिश विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिनेछ । त्यसको लागि २४० जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । त्यस्तै, खोप कार्यक्रममा १५ सय स्वयंमसेविका परिचालन गरिने छ । स्वास्थ्य कार्यालय ललितपुरले सार्वजनिक गरेको तालिका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म, कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म सञ्चालन हुनेछ ।
जिल्लाका सबैजसो स्वास्थ्य संस्था र स्थानीयलाई पायक पर्ने स्थानमा खोप केन्द्र सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
अनुदानमा प्राप्त भएको खोप वितरण र व्यवस्थापनको लागि स्वास्थ्य कार्यालयले करिब ५७ लाख बजेट छुट्याएको छ। बालबालिकालाई खोप लगाउने कार्यक्रममा अभिभावक पनि उपस्थित हुनुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ।
वैशाख १८ गतेपछि भने रुबेला दादुराको खोपजस्तै यो खोपलाई पनि बालबालिकालाई लगाइँदै आएका नियमित खोपमा समेटिने विष्टले बताए। ‘पहिलो पटक अभियानको रुपमा बालबालिकालाई यो खोप लगाउन लागिएको हो, वैशाख १८ गतेपछि भने यो खोप नियमित खोपमा नै समेट्ने छौँ,’ उनले भने।
एक मात्रा मात्रै लगाए पुग्ने यो खोप अभियानका लागि स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयमा खोप केन्द्र राखिएको र विद्यालय नजाने बालबालिकाहरूका लागि भने आवश्यकताअनुसार वडाहरूमा बाह्य खोप केन्द्र सञ्चालन गरिने विष्टले बताए।
विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगका लागि सिफारिश गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान शुरुवात गर्ने नेपाल दक्षिण एशियामै पहिलो राष्ट्र रहेकोसमेत उनले बताए।
टाइफाइड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।
खोप लगाएपछि कस्ता असर देखिनसक्छन् ?
टाइफाइड खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा विमिराहरू आउने, हात खुट्टा दुख्ने, जोर्नी दुख्न, वाकवाकी लाग्ने, वान्ता हुने, एनाफाइल्याक्सिस् प्रतिक्रिया असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।
खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ । गर्भवति महिला, स्तनपान गराई रहेका महिलाले यो खोप लिन हुँदैन ।