Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राजनीति र समाजसेवालाई सँगसँगै डो-याएका बाबुराज बज्राचार्य

राजनीति र समाजसेवालाई सँगसँगै डो-याएका बाबुराज बज्राचार्य

रामहरि कार्की

१२, बैशाख २०७९
राजनीति र समाजसेवालाई सँगसँगै डो-याएका बाबुराज बज्राचार्य
images

ललितपुर । राजनीति यसै पनि कठिन काम । समाज सेवा झन् अर्को कठिन यात्रा । यी दुवै कठिन कामलाई एकैसाथ लैजान सक्ने सफल व्यक्ति हुन् ललितपुर पाटन बुःवहालका बावुराज बज्राचार्य । चार दशकदेखि दुबै कठिन कामलाई सफलतापूर्वक अगाडि बढाउँदै आएका बज्राचार्य आसन्न वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट ललितपुर महानगरमा उपमेयरमा सत्ता गबन्धनको साझा उम्मेदवार बनेका छन् । उनै बज्राचार्यको सामाजिक र राजनीतिक यात्राको संर्घष यहाँ प्रस्तुत गरिएको छ ।

को हुन् बज्राचार्य ?
पाटन बुःवहालमा २०२४ साल कात्तिकमा जन्मिएका बज्राचार्य बाल्यकालदेखि नै विद्रोही स्वभावका थिए । उनी १२ वर्षको उमेरदेखि नै बहुदलीय व्यवस्थाको लगि निलो झण्डा बोकेर हिडे । सानै उमेरदेखि सामाजिक र राजनीतिक क्षेत्रमा लागेका बज्राचार्य हालसम्म पनि पार्टी र समाजको तल्लो तह तप्कामा बसेर अनवरत खटिइरहेका छन् ।

बज्राचार्यले लगनखेलको नमुना मच्छिन्द्र कलेजबाट स्नातक तहसम्मको शिक्षा हासिल गरेका हुन् । त्यसअघि उनले आदर्श सरल माविबाट एसएसलसी उत्तिर्ण गरेका थिए ।

राजनीतिक यात्रा र संघर्ष
२०३५ साल यताका राजनीतिक घटनाक्रममा बज्राचार्य प्रत्यक्ष रुपमा सामेल हुँदै आए । उनले ललितपुरको पाटनलाई केन्द्र बनाएर सामाजिक र राजनीतिक कर्म गर्दै गर्दै आएका हुन् । २०४५ सालमा उनी तत्कालीन ललितपुर नगरपालिकाको नगर कमिटीको सदस्य बने । २०४६ को जन आन्दोलनमा नगर कमिटीको सल्लाहकार बने । त्यतिबेला कमिटीको प्रचारप्रसार विभाग सम्हालेका थिए उनले । नेपाल भ्रमण वर्ष १९९८ मा पनि उनी नगरपालिकाको सचिवालय सदस्य भएर काम गरे ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा वडा १८ को वडा सदस्य भए । त्यतिबेला उनी नेकपा (एमाले) र तत्कालीन माले पार्टीबाट राजनीतिक प्रतिनिधित्व जनाएका थिए । त्यसपछि २०५३ सालदेखि २०५६ सालसम्म उनी तत्कालीन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्रचार्यको स्वकीय सचिव बने । त्यहाँ उनलाई काम गर्ने सहज बातावरण भएन । त्यसपछि उनले २०५६ सालमा उक्त स्वकीय सचिवको काम छाडिदिए । मेयरको सचिवालयको काम छाडेपछि बज्राचार्यको माओवादी सर्कलका नेतासँग संगत बढ्न थाल्यो । माओवादीका नेता कार्यकर्ताले उनलाई उनलाई पार्टी प्रवेश गर्न आग्रह गरे । २०५६ सालमा उनी माओवादीमा प्रवेश गरे र २०५७ सालमा सदस्यता पनि लिए ।

उनी २०५६ सालमा माओवादीमा प्रवेश गरेका उनी केहि समय अर्ध भुमिगत जस्तै बने । २०६२÷०६३ को द्वन्द्वकालपछि प्रचण्ड भुमिगत जीवनबाट बाहिर आएपछि माओवादीको पहिलो बैठक पाटनस्थित उनको घर बुःवहालमा बसेको थियो । त्यतिबेला नेवा राष्ट्रिय मुक्ति मोर्चाको तीनदिने बैठक बसेको थियो । भुमिगत अवस्थाबाट बाहिर आएपछि बावुराम भट्टराईले उनको घरबाट पहिलोपटक अन्तर्वाता दिएका थिए । त्यतिबेला उनी पनि भटट्राईको साथमै थिए । सोहि समय राम वहादुर थापा बादल पनि एक महिना उनको घरमै बसेका थिए ।

बज्राचार्यले पाटन क्षेत्रका थ्रुपै संघसंस्थामा बसेर काम गरे । २०५६ सालमा उनी नेवा खल कमिटीमा बसेर काम गरेका थिए । तर त्यो कमिटीको काम कारबाही भने उनलाई त्यति याद छैन । बज्राचार्यले पार्टी र समाजको विभिन्न तहमा बसेर उनले भुमिका निभाउँदै आए । हाल उनी पार्टिको महानगर कमिटि अध्यक्ष रहेका छन् ।

माओवादीमा प्रवेश गरेपछि उनले नेवा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय सदस्य र महानगर अध्यक्ष पनि भएर काम गरे । २०७० सालमा उनी माओवादी केन्द्रको महानगर कमिटीको अध्यक्ष नै भए ।

त्यसपछि पार्टी एकता र गठबन्धनपछि उनी जिल्ला कमिटीको सदस्य भए । २०७८ सालको कमिटीको निर्वाचनमा उनी पुनः निर्वाचित भएर नगर कमिटी अध्यक्ष बने । हाल उनकै सक्रियतामा महानगरको २९ वटै वडामा पार्टीको संगठन वलियो बनेको छ ।

उनले यो पटक धेरैको साथ र हौसलाले आफू उपमेयरको उम्मेदवार बनेको बताए । त्यसो त उनलाई राजनीतिक यात्रा गर्दा कहि न कहि पुगिन्छ भन्ने हेक्का पनि थियो । विभिन्न नेतृत्वमा उनले यसअघि पनि दाबी गरेका थिए । तर कयिपय ठाउँमा उनले त्याग पनि गरे ।

२०७४ सालमा भएको बागमती प्रदेश सभा चुनावमा पनि उनी प्रदेश सभा सदस्यमा आकांक्षी थिए । तर एमालेसँग गठबन्धन भएपछि ओलीले आफ्नो घर व्यवहारमा समस्या हुने भएको भन्दै बज्रचार्यलाई त्याग्न आग्रह गरे । एमालेका ज्ञानेन्द्र शाक्य निर्वाचित भए । त्यतिबेला पद त्यागेको भनेर केपी ओलीले उनलाई घरमै बोलाएर धन्यवाद दिएका थिए ।

यसपटक भित्रि इन्छाले नै उपमेयरमा उम्मेदवार दिएको उनको भनाई छ । उम्मेदवार दिएर जित्न सक्नु भन्ने आत्मविश्वास पनि छ उनलाई ।

उनको बुझाईमा राजनीति र समाजसेवा दुईटा पाटो हो । यद्यपी उनले यी दूवैलाई सँगसँगै अघि बढाए । नत उनी समाज सेवामा कमजोर देखिए नत स्थानीय राजनीतिमा नै । ‘मलाई समाजमा राजनीतिक र समाजसेवी दुवै व्यक्तिका रुपमा चिन्छन्,’ उनी भन्छन्, ‘समाजमा काम गरेको व्यत्तिले त्यो समाजको नेतृत्व पनि गर्न पाउनुपर्छ भन्ने मान्यता मेरो हो ।’

उबेला उमेर नपुग्दा वडाध्यक्ष बन्न पाएनन्
२०४९ सालको स्थानीय तहमा एमालेबाट वडाध्यक्षको टिकट उनलाई भाग लागेको थियो । तर त्यतिबेला उनलाई आफ्नै उमेरले ठग्यो । उमेर २४ वर्ष मात्रै पुगेकोले उनले आएको अवसर पनि गुमाउनु पर्यो । वडाध्यक्ष बन्नको निम्ति त्यतिबेला २५ वर्षको पुग्नुपर्दथ्यो । त्यसबेला उनले उक्त वडाको टिकट ज्ञानेन्द्र शाक्यलाई दिए । त्यस्तै २०५४ सालमा पनि उनले तत्कालीन ललितपुर नगरपालिकाको १८ नम्बर वडामा वडाध्यक्ष दाबी गरे । उनी र ज्ञानेन्द्र मध्ये को उम्मेदवार बन्ने भन्नेबारे रस्साकस्सी नै चल्यो । अन्ततः तत्कालीन संगठन विभाग प्रमुख केपी ओलीले शाक्यलाई नै टिकट दिए । त्यतिबेला बज्राचार्यलाई तत्कालीन नगर प्रमुख बुद्धिराज बज्राचार्यको स्वकीय सचिव बनाउने सहमती भएको थियो ।

माओवादीप्रतिको डर
२०६२/०६३ को जनआन्दोलनपछि समाजमा माओवादीप्रति त्रास बढेको थियो । मानिसहरु माओवादी भन्ने बित्तिकै डराउथे । गलत रुपमा हेर्थे । त्यतिबेला स्थानीयलाई माओवादीको बारेमा बुझाउँदै र समाजसेवा गर्दै बज्राचार्य अघि बढिरहे । द्वन्द्वकाल अघि एउटा नमिठो घटना भएको थियो । २०५८ मा तत्कालीन सरकारले उनका साथी निश्चल नकर्मी, सुविन्द्र श्रेष्ठ र राजेन्द्र माली धर पकडमा परी बेपत्ता पारिए । हालसम्म पनि उनी तीन जना बेपता नै छन् ।

व्यवसाय नै चौपट भयो
राजनीतिकमा लागेपछि उनले परिवारलाई समय त दिन पाएनन् नै भएको व्यवसाय समेत सुक्यो । उनी हस्तकलाको व्यवसाय गर्थे । राजनीतिमा लागेपछि उक्त व्यवसाय पनि चौपट बन्यो । राजनीतिक र सामाजिक काममा व्यस्त हुन थालेपछि उनले व्यवसाय छाडेका थिए । त्यसकारण पनि यसअघि उनलाई वडाध्यक्ष र सांसद बन्ने सम्मका अवसर आए ।

उनले राजनीतिलाई कहिल्यै पनि स्वार्थको टेको बनाएनन्, आफ्नो पालो कुरेर बसे समाजमा निरन्तर सेवा गर्दै । ललितपुरमै जन्मेर त्यहाँको समाजसँग यात्रा गर्दै अघि बढेका उनी यसपटक आफ्नो बाल्यकालदेखिको नगर बनाउने सपना पूरा गर्ने ठाउँको नेतृत्व लिन खोज्दैछन् ।

सिद्धिलालका फ्यान हुँदा
२०३६ सालको कुरा हो । उनी भर्खर १२ वर्षका थिए । उमेर सानै भए पनि उनले त्यतिबेला सिद्धिलाल सिहलाई बुझ्न र जान्न भ्याइसकेका थिए । उनी सिद्धिलालका फ्यान बनिसकेका थिए । उनी सिद्धिलाल भाषण वा कार्यक्रम छ भन्ने सुन्नीबित्तिकै उनी हेर्नलाई पाटनतिर पुग्थे । २०३६ सालको कुरा हो, सिद्धिलाल अब बाहिर आउने भने भनेर हल्ला चल्यो । उनले भाषण सम्बोधन गर्ने भन्ने सुनेपछि उनी पाटको भिमसेन मन्दिर पुगेको थिए, तर त्यतिबेला उनले नराम्ररी लाठी खानुपर्यो । केटाकेटी उमेरमा लाठी खाएपछि उनलाई झ्न राजनीतिमा लाग्ने जोस जाग्यो । त्यसपछि झन् उनी राजनीतिक कार्यक्रममा हिड्न थाले । एकदिन गाःवहालको पानी ट्यांकीमा तुलसीलालले भाषण दिए । उनीहरु दुई मिनेट आएर भाषण दिएर गायब भइहाले । त्यतिबेला बज्राचार्य भाषण सुन्न त्यहाँ पुगेका थिए । ‘मेरो राजनीतिक इच्छा यी दई व्यक्तिलाई देखेर आएको हो,’ उनी सुनाउँछन्, ‘यी दुवैको भाषण सुन्दा अब राजनीति गर्नपर्छ भन्ने लागेको थियो ।’

२०४५ सालमा उनी २१ वर्षे ठिटो थिए । त्यतिबेला पाटनमा उम्मेदवारको परिचयात्मक कार्यक्रम थियो । त्यतिबेला उक्त सञ्चालन गर्ने जिम्मेवारी उनलाई दिइएको थियो । त्यतिबेला तिखो स्वर र धारावाहिक प्रस्तुतीमा भाषण ठोकेर निकै प्रशंसा कमाएका थिए उनले । ‘त्यो बेलादेखि मेरो राजनीतिक यात्रा निरन्तर अघि बढ्यो,’ उनी भन्छन्, ‘टोल छिमेक र सामाजिक काममा सधै सहभागी हुन्थे, टोलमा कसैलाई केहि परेको छ भने मलाई दुख्थ्यो र दुःख्छ ।’

समाजसेवाको यात्रा
उनले २०४० सालदेखि समाजसेवाको यात्रा सुरु गरे । उनी बौद्ध बिहार संघमा ६ वर्ष काम गरे (२०६४ देखि २०७० सम्म) । त्यस्तै अक्षश्वर महाविहारमा पनि ६ वर्ष काम गरे । हाल यशोधर महाविहार टोलमा १७ वर्षदेखि निरन्तर रुपमा उनले नेतृत्व गर्दै आइरहेका छन् । उनी बुद्ध जयन्ती टस कमिटीको सदस्य र नेको जात्रा मतयाको सल्लाहकार हुन् । हाल उनी बौद्ध विहार र अक्षश्वर विहारको संरक्षकको रुपमा रहेका छन् । ब्रजाचार्य यशोधर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष, जिल्ला बचत तथा सहकारी संघको सल्लाहकार र नेवा सांस्कृतिक केन्द्रको उपाध्यक्ष रहेका छन् ।

संस्कृति संरक्षणमा अग्रणी भूमिका
बज्राचार्यलाई नेवारी संस्कृति र सम्पदाको राम्रो ज्ञान छ । पाटन क्षेत्रका सांस्कृतिक पर्वहरु सञ्चालन र संरक्षणमा उनको भुमिका महत्वपूर्ण रहँदै आएको छ । उनकै सक्रियतामा पाटन क्षेत्रका १३ वटा विहान निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसमध्ये केहिको काम सकिएको छ । उनले १४ करोड बजेट माग गरेर सम्पदा क्षेत्रमा खर्च गरेका थिए । महानगरको सर्वदलीय संयन्त्रको बैठकमा उनले सम्पदा संरक्षणका लागि प्रत्येक वर्ष एक करोड सम्पदा संरक्षण रकम माग गरेका थिए । त्यसपछि बाजागाजा, विहार, कठमन्दिर र पर्वहरु संरक्षणमा झन् सहज भयो । ‘सांस्कृतिक प्रशिक्षणको लागि रकम पनि हामीले तोकेको छौं,’ उनले भने, ‘नीतिगत रुपमा नै पर्यटक आउदा उठेको रकम सम्पदा पूर्वाधार निर्माणमा खर्च गर्ने भनेर यसअघि निर्णय पनि गरेका थियौं ।’

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - ०८:५५:२५ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology