Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज महाअष्टमी पर्व मनाइँदै

आज महाअष्टमी पर्व मनाइँदै

दैनिकी न्यूज

१७, आश्विन २०७९
आज महाअष्टमी पर्व मनाइँदै
images

काठमाडौँ । महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ ।

आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको छ । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि दिने गरिन्रछ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको छ । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने बताइएको छ । “राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, । आजैका दिन राति पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ । आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्छ ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका देवीघाट र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ ।

यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ । देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् ।

images
प्रकाशित मिति :आश्विन १७, २०७९ सोमवार - ०७:३०:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology