ललितपुर । यो वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकामा कार्यरत शिवहरि घिमिरे र देखापढी न्युज पोर्टलमा कार्यरत रोजिना थापालाई प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल ललितपुर जिल्लाले शनिबार एक कार्यक्रमकाविच प्रेस सेन्टरका केन्द्रीय इन्चार्जसमेत रहेका नेकपा (माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य महेश्वर दाहाल र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु प्रसाद सापकोटा जुगलले पुरस्कार हस्तान्तरण गरेका हुन् ।
दुवै जनलाई पाँच हजार एक सय रुपैयाँका दरले पुरस्कार र सम्मानपत्र वितरण गरिएको छनौट समितिका सदस्य सचिवसमेत रहेका प्रेस सेन्टर ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए । उनका अनुसार नेपाल बार एसोसिएसन ललितपुरका अध्यक्षको संयोजकत्वमा गठित ३ सदस्यीय पुरस्कार छनौट समितिले दुई जनाको नाम छनौट गरेको हो ।
द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता पारिएका पत्रकार मिलन नेपालीको नाममा हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो वर्षदेखि ५१ हजारको अक्षयकोष निर्माणका लागि बेपत्ता पत्रकार नेपालीकी श्रीमती सविता बस्नेतले शनिबार ४१ हजार रकम हस्तान्तरण गरेकी छिन् ।
कार्यक्रममा बस्नेतले प्रेस सेन्टरले आफ्नो श्रीमानको योगदानलाई कदर गर्दै बिभिन्न कार्यक्रम गरेको प्रति आभार प्रकट गरिन । उनले आफूहरुले आस्था बोकेको पार्टी माओवादी केन्द्रले जनयुद्धका क्रममा शहिद, बेपत्ता र घाइते भएकाहरुको सपना पूरा गर्न थप जनपक्षीय काम गर्नुपर्नेमा जोड दिइन ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टर नेपालका इन्चार्ज महेश्वर दाहालले जनयुद्धको उपलब्धी रक्षा र परिवर्तनको पक्षमा पत्रकारहरुले खबरदारी गरिराख्नु नै मिलन नेपालीहरुप्रति सच्चा सम्मान हुने बिचार व्यक्त गरे । उनले माओवादी केन्द्र बाहेक कुनै दलसँग पनि परिवर्तन र अग्रगमनको एजेन्डा नभएको दावी गर्दै त्यो एजेन्डा जनतामा स्थापित गर्न पत्रकारहरुको अहम भूमिका रहने बताए ।
उक्त अवसरमा माओवादी केन्द्र ललितपुर जिल्ला इन्चार्ज दिनेश महर्जन महर्जनले आसन्न निर्वाचनलाई केन्द्रमा राखी माओवादी केन्द्रको नीति जनतासम्म पुर्याउन र परिवर्तनको पक्षमा मत आकृष्ट गर्न आग्रह गरेका थिए भने प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगल र उपाध्यक्ष निर्मल ज्ञवालीले प्रचारको मोर्चा सम्हाल्न प्रेस सेन्टर पूर्ण प्रतिवद्ध र तम्तयार रहेको बताएका थिए ।
प्रेस सेन्टर ललितपुरका सचिव दिपक अर्यालले संचालन गरेको उक्त कार्यक्रममा जिल्लाका सस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए ।