Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य बैंक, कुन बैंकको कति ?

यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य बैंक, कुन बैंकको कति ?

राजु नेपाल

१०, कार्तिक २०७९
यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य बैंक, कुन बैंकको कति ?
images

काठमाडौं । गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट विभिन्न ७ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका बैंकहरुमा बैंक अफ काठमाण्डू, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रहेका छन् ।

हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा सबैभन्दा धेरै बैंक अफ काठमाण्डूको रहेको छ । बैंकको असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा दोस्रो धेरै लाभांश दिनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले आर्थिक वर्ष २०७८–७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, जसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत प्रस्ताव गरेको हो ।

लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा तेस्रो धेरै लाभांश दिनेमा कुमारी बैंक रहेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले कात्तिक २१ गते साधारण सभा बोलाएको छ ।

यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो ।

त्यस्तै, निफ्रा बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजे बोलाएको छ। बैंकको हालको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

माथि प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरु हकदार हुनेछन् ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७९ बिहिवार - १०:२९:३६ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology