ललितपुर । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै ललितपुर जिल्लामा राजनीतिक दल तथा उम्मेदवारले चुनावी अभियानलाई व्यापक बनाएका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको प्रचार–प्रसारको समय बिहीबारबाट सुरु भएपछि उम्मेदवार र राजनीतिक दललाई चुनावी चटारोले छोएको हो । गाउँ तथा बस्तीमा बिहानदेखि बेलुकासम्म उम्मेदवार तथा दलका नेताकार्यकर्ताको चहलपहल देखिन्छ ।
मतदाताहरूको गुनासो सुन्ने र आश्वासन दिन उम्मेदवार व्यस्त छन् । ‘गाउँमा राम्रो बाटो छैन । सधैँ बाढीले सताउँछ । पाँच वर्षअघि पनि चुनावमा बाटो घाटो, पुल पुलेसा बनाउँर्छाैँ भने अहिलेसम्म भएन’, बागमती गाउँपालिका–७ गिम्दी निवासी केशव दाहालले भने, ‘नेता भोट माग्न आउने, हामी गुनासो पोख्ने त्यहि भइरहको छ । ‘ललितपुर जिल्लामा प्रतिनिधि सभाको ३ निर्वाचन र प्रदेश सभाको ६ निर्वाचन क्षेत्र छन् । गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
क्षेत्र नम्बर १ मा एमालेबाट नवराज सिलवाल, नेपाली कांग्रेसका उदय शमसेर बीच तीब्र प्रतिस्पर्धा हुँदैछ । यी दुई दल र अन्य पार्टीका उम्मेदवार, स्वतन्त्र पनि चुनावी अभियान लिएर गाउँ पसेका छन् ।
क्षेत्र नम्बर २ मा एमालेबाट प्रेम महर्जन र नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर ३ मा एमालेबाट अमृत खड्का र नेकपा (माओवादी केन्द्र) को तर्फबाट नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालबीच प्रतिस्पर्धा छ ।
सबै उम्मेदवार आ–आफ्नो जित हुने दावीसहित मतदाताको घर आँगनमा पुगेका छन् । यसअघि आफ्नै सुरमा विकासे एजेण्डा बोकेर गाँउबस्तीमा पुगेका नेताहरूलाई यसपटक भने मतदाताले फरक–फरक एजेण्डा ल्याउन माग गरेका छन् ।



