Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने

आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने

दैनिकी न्यूज

२२, कार्तिक २०७९
आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने
images

काठमाडौं । आज (बुधबार) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिनेछ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको सुरु हुने जनाएको छ । यस्तै, बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने भएको छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ ।

चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार, आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक हुने देखिएको छ ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । जसअनुसार मंगलबार बिहान ८ बजेर ११ देखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुनेछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

यसअघि ८ कात्तिकमा कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैनः धर्मशास्त्रविद्

धर्मशास्त्रविद्ले शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा जोड दिइका छन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म घरघरमा विशेषरूपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवं कात्तिक स्नान गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीले कात्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् । यस वर्ष १४ असोजमा अस्त भएको शुक्र ६ मंसिरमा उदय हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवं वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले बताए । केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नुहुन्छ कि हुन्न भनी दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउँछन् । तिथिअनुसार प्रत्येक वर्ष मनाइने चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवं वृहस्पति अस्तले फरक नपर्ने उनले बताए । पुराण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवं वृहस्पति अस्तका बेला गर्नु नहुने शास्त्रीय वचन छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनुपर्दैन । त्यसपछि भने अग्नि जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - ०७:०५:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology