ललितपुर । प्रहरीले ‘नेपाली गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले काठमाडौं र मकवानपुरबाट ती ८ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
उनीहरूले ललितपुर–१५ सातदोबाटोका हरि प्रसाद ढकालको नाममा एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप ह्याक गरी रकम चोरी गरेको ललितपुर जिल्ला प्रहरी परीसरका प्रमुख, एसएसपी सिद्धि विक्रम शाहले बताए । ‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले भनाई थियो । यसरी मेसेजमा पठाएको एपको लिंक खोलेपछि ‘नेपाली केटी चाहिन्छ ?’ भन्ने जस्ता मेसेजहरू फोनमा देखिन्थ्यो। एप फोनमा डाउनलोड भएसँगै ह्याक हुने गरेको उनले बताए।

गत मंसिर २६ गते ढकालको नाममा रहेको एकाउण्ट ह्याक गरी विभिन्न व्यक्तिहरुको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको भन्ने व्यहोराको उजुरी प्रहरी परिसरमा परेको थियो । उजुरी दर्ता भै अनुसन्धान गर्दै जादा प्रकाउ परेका व्यक्तिहरुले संगठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गरेको देखिन आएकोले प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान गर्दै जादा मकवानपुर र काठमाडौंबाट ८ जना प्रकाउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भारतको बिहार घर भई काठमाडौंको चाबहिल बस्ने अवधेश कुमार, सप्तरीको कृष्णासरवन गाउँपालिका– २ घर भई काठमाडौंको जोरपाटी बस्ने दिलीपकुमार चौधरी, पर्साको विन्दावासिनी– ८ बस्ने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नपा १ घर भई मकवानपुरको हटौँडा बस्ने रविना चौधरी, बाराको कोलबी नगरपालिका– ४ घर भई मकवानपुरको हेटौँडा बस्ने सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका– २५ का राजु पटेल, सोही स्थानका साहिल परबेज र शिवशंकर राउत छन् ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीको ९ थान मोबाइल, एक था ल्यापटप र ४ थान एटिएम कार्ड समेत बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ५० लाख विभिन्न व्यक्तिहरु ठगिएको प्रहरीले जनाएको छ ।
उनीहरुले नेपाली गर्ल एपको सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापन गराउने र त्यहाँ क्लिक गरेपछि डाटा चोरी गरेर सिस्टम ह्याक गरी ठगी गर्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरुलाई उच्च अदालत पाटनबाट बैकिङ कसूर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।