काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई १ सय ७७ रनले हराउदै ४ वर्षका लागि सोझै एक दिवसीय मान्यता जोगाएको छ ।
युएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराएको नेपालले ऐतिहासिक जित निकालेको हो।
लिग २ मा दोस्रो पटक युएईलाई हराएको घरेलु टोलीले शीर्ष ५ मा रहँदै ओडिआई मान्यता जोगाएको हो। नेपालले अबका बाँकी दुई खेल गुमाएपनि ओडिआई मान्यता कायम रहनेछ।
ओडीआई मान्यता जोगाएपछि नेपालको अबको लक्ष्य शीर्ष ३ मा रहँदै सोझै विश्वकप छनोट खेल्ने रहेको छ। शीर्ष ३ मा रहन नसके प्ले अफबाट विश्वकप छनोटमा स्थान बनाउने बाटो नेपालसामु छ।
नेपालसँगको हारले भने युएइले सोझै ओडिआइ मान्यता जोगाउने अवसर गुमाएको छ। अर्को प्ले अफमा शीर्ष ४ मा पर्न नसके युएईको ओडिआई मान्यता गुम्नेछ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएई २२ ओभर ५ बलमा रन बनाउँदा ७१ रनमै अलआउट भयो । यूएईका लागि आयन अफजल खानले सर्वाधिक २९ रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले ५ विकेट लिए । यस्तै सन्दीप लमिछानेले २ तथा सोमपाल कामी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा २४८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए । यस्तै आरिफ शेखले ४३, गुलसन झाले ३७ र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खान, जहूर खान, रोहन मुस्तफा र जवार फरिदले २–२ विकेट लिए ।