Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालले कतारलाई ५ रनले हराउँदै लगातार चौथो जित

नेपालले कतारलाई ५ रनले हराउँदै लगातार चौथो जित

दैनिकी न्यूज

२८, आश्विन २०८२
नेपालले कतारलाई ५ रनले हराउँदै लगातार चौथो जित
images

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले शानदार प्रदर्शन गर्दै लगातार चौथो जित दर्ता गरेको छ । सोमबार राति सम्पन्न रोमाञ्चक खेलमा नेपालले कतारलाई ५ रनले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावनालाई थप बलियो बनाएको हो ।

खेलको क्रममा कतार कुनै समय जितको नजिक पुगेको थियो, तर अन्तिम क्षणमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी टोलीलाई १४२ रनमै समेटे । नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

सन्दीपको घातक बलिङ

नेपालको जितमा बलर सन्दीप लामिछानेले महत्वपूर्ण भूमिका खेले । उनले एक्लैले ५ विकेट लिँदै कतारको ब्याटिङ लाइन–अपलाई ध्वस्त पारिदिए । नन्दन यादवले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

कतारका ओपनर इमाल लियानागेले उत्कृष्ट अर्धशतक बनाएका थिए । उनले ३५ बलमा ३ छक्का र ५ चौकासहित ५६ रन जोडे । उनका सह–ओपनर जुबेर अलीले पनि ५२ रनको योगदान दिए । तर, बाँकी ब्याट्सम्यानले ठूलो योगदान दिन नसक्दा कतार लक्ष्य नजिक पुगेर पनि हार्न बाध्य भयो ।

कप्तान रोहितको अर्धशतक

नेपालका लागि कप्तान रोहित पौडेलले संकटपूर्ण अवस्थामा जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै ५८ रनको महत्वपूर्ण पारी खेले । उनले ४१ बलमा १ छक्का र ७ चौका हिर्काए । यो उनको टी–२० अन्तर्राष्ट्रिय करियरको आठौँ अर्धशतक हो । यसैसँग उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १,६०० रन पूरा गरेका छन् ।

नेपालले सुरुवातमै दुबै ओपनर कुशल भुर्तेल (६ रन) र आसिफ शेख (११ रन) लाई सस्तैमा गुमाएको थियो । त्यसपछि कुशल मल्ल पनि ८ रनमै आउट भए । तर, रोहित र दीपेन्द्रसिंह ऐरी (२६ रन) बीचको साझेदारीले टोलीलाई स्थिर बनायो । अन्त्यतिर गुलसन झाले ८ बलमा २ छक्का प्रहार गर्दै १६ रन जोडे भने सोमपाल कामीले १४ रनको योगदान गरे ।

कतारका बलर ड्यानियल लुइस र मिर्जा बेगले समान ३–३ विकेट लिए ।

सुपर–६ मा नेपालको बलियो स्थिति

यसअघि नेपालले सुपर–६ चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनले हराएको थियो । अहिले अंकतालिकामा ओमान ६ अंकसहित पहिलो स्थानमा छ भने नेपाल पनि समान ६ अंकसहित दोस्रो स्थानमा छ । यूएई र जापानका २–२ अंक छन्, जबकि कतार र सामोआ अझै अंकविहीन छन् ।

सुपर–६ चरण सकिँदा शीर्ष तीन टोलीले आगामी टी–२० विश्वकपका लागि आफ्नो स्थान पक्का गर्नेछन् ।

नेपाल र कतारबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो चौथो भिडन्त थियो । यसअघि भएका तीन खेलमध्ये दुईमा नेपालले जितेको थियो भने एक खेल कतारको पक्षमा गएको थियो ।

नेपालको यो जितसँगै विश्वकप छनोटको ढोका अझै फराकिलो बनेको छ ।

images
प्रकाशित मिति :आश्विन २८, २०८२ मंगलवार - ०७:४६:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology