काठमाडौं । बझाङमा जीप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । उक्त दुर्घटनामा परि उनीसँगै तीन जनाको निधन भएको छ । मन्त्रीसँगै जीपमा सवार मन्त्रीकी श्रीमती अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा निधन भइसकेको छ ।
डडेल्धुराबाट चैनपुर जाँदै गरेको मंगलबार दिउँसो २ बजे सुपप्र ०१००१ झ ४८० नम्बरको जीप दुर्घटनामा परेको थियो । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडाको सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा कार खसेको थियो।
उक्त जीपमा आन्तरिक मामिलामन्त्री सिंह लगायत अन्य पाँच जना सवार थिए । दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंहको कोहलवुर मेडिकल कलेजमा निधन भएको हो । श्रीमती अमृता र जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी, मन्त्री सिंह, उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारकालागि हेलिकप्टरबाट नेपालगन्जमा पठाइएको थियो ।