Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विर्खेधारा दलचोकी शंखु सडकमा ठेकेदारले लापरवाही गरेको स्थानीय युवाको आरोप

विर्खेधारा दलचोकी शंखु सडकमा ठेकेदारले लापरवाही गरेको स्थानीय युवाको आरोप

केशव घिमिरे

५, श्रावण २०८०
विर्खेधारा दलचोकी शंखु सडकमा ठेकेदारले लापरवाही गरेको स्थानीय युवाको आरोप
images

ललितपुर । ललितपुर भन्ने बित्तिकै धेरैलाई लाग्नसक्छ ललितपुर त देशकै राजधानीसँग जोडिएको जिल्ला हो । त्यसमा पनि उपत्यकाको तीन जिल्लामध्ये एक जिल्ला । विकास निर्माणले सम्पन्न जिल्ला लाग्न सक्छ । तर ललितपुरको सदरमुकामबाट दक्षिणीभागको तीन गाउँपालिका भौगोलिक रूपमा कठिन र विकास निर्माणको हिसाबले निकै पछाडि रहेको छ।

ललितपुरको दक्षिणी भाग कान्तिलोकपथको विर्खेधाराबाट सुरु भइ दलचोकी, शंखु , इकुडोल हुँदै आस्राङ लुकुनि जोड्ने सडकको विर्खेधारा देखि दलचोकी गोठभञ्ज्याङसम्म सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने जिम्मा पाएको याक्थुयाम ह्याङ सुनकोशी महर्जन ज्वाइट भेन्चर नामको कम्पनीले चरम लापरबाही गरेको छ।

यो कम्पनीले करिब ६ किलोमिटर सडक निर्माण गर्न मिति २०७८ साल भाद्र ११ गतेबाट काम सुरु गरि दुई वर्षभित्रै काम सक्नेगरी सात करोड छयानब्बे लाख त्रिसट्ठी हजार तीन सय छैसठ्ठी रुपैया त्रियानब्बे पैसामा सम्झौता गरेकोमा काम ढिलोगरी सुरु गरेर समय गुजार्ने काम गर्यो ।

ठेक्का सम्झौता भएर पनि बेलैमा काम सुरु नहुँदा दलचोकी र शंखुका उपभोक्तहरु बसेर वडा अध्यक्ष तिलकबहादुर बोम्जनको रोहवरमा विर्खेधारा दलचोकी शंखु मोटरबाटो निर्माण सङ्घर्ष समिति बनाएर पटक पटक ताकेता, दवाव दिएर काम सुरु गराउनु परेको थियो ।

समय सकिनै लाग्दा काम सुरु गरेर कम गुणस्तरीय सामान प्रयोग गरि काममा गम्भीर लापरवाही गरेको देखेपछि उक्त सङ्घर्ष समितिको सहसंयोजक अनुप शर्मा र सदस्य कृष्णप्रसाद घिमिरेले अनुगमन गरेर कामको र लापरवाहीको बारेमा सम्बन्धित ठाउँमा खबर गरेका छन ।

अनुगमन गर्दा बाटोको भित्तामा पानी बग्ने कुलो बनाउन बालुवाको सट्टामा क्रसरबाट ढुङ्गा पेल्दा निर्कने धुलो (डस्ट) माटो मिसिएको ढुङ्गा, गिट्टी प्रयोग भइरहेको भेटिएको थियो ।

निर्माण कम्पनीले सडकैभरी बालुबाको रुपमा प्रयोग गर्न तयारीमा राखेक‍ो र लादै गरेको क्रसरको धुलोको निरिक्षण गरि खबरदारी गरेको छ।

यसरी दिनदहाडै उपभोक्ताको आँखामा छारो हाल्ने र गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीको विरुद्धमा ससक्त सङ्घर्ष गर्ने र निर्माण कम्पनिलाई कानुनी दायरामा ल्याउन अहिले युवाहरू ससक्त लागिरहेका छन ।

निर्माण कम्पनीको चरम लापरवाही हुँदा स्थानीय सरकार र जनप्रतिनिधि बेखबर बनेका छन । त्यसतर्फ स्थानीय सरकार र जनप्रतिनिधिले ध्यान नदिदा कतै बिकास निर्माण काम स्थायी र प्रभावकारी नहुने हो कि भनेर जनताले चिन्ता लिन थालेका छन।

images
प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - ०९:२६:४३ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology