ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मा निर्माण हुन लागेको मामाघर अनाथालय आश्रमको सहयोगार्थ आयोजना गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञको तयारी पूरा भएको छ । आजदेखि शुरु भै भदौ ३० गतेसम्म बाडेगाउँमा सञ्चालन हुने महायज्ञमा सम्पूर्ण ललितपुरवासी तथा श्रद्धालु भक्तजनहरूको सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ । गोदावरी कुण्डबाट आज विहान ७ बजे कलशयात्रा सुरु हुँदैछ ।
महायज्ञ मुल समारोह समितिले पत्रकार सम्मेलन आयोजना गरेर तयारी पूरा भएको जानकारी दिएको हो । महायज्ञको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।
देशभरीका अनाथ बालबालिकाहरूको आश्रय स्थल नेपालकै नमुना मामाघर अनाथ आश्रम, वृहत आध्यात्मिक केन्द्र, प्राकृतिक चिकित्सालय, योग तथा ध्यान केन्द्र, अन्न क्षेत्र, धर्मशाला, सत्सङ्ग भवन, पुस्ताकालय, खेल मैदान, सन्त निवास, प्रवचन हल, गौशालाआदि निर्माण तथा निःशुल्क एम्बुलेन्स सञ्चालनका लागि आर्थिक सहयोग जुटाउनका लागि महायज्ञ गर्न थालिएको मामाघर अनाथालय आश्रमका संस्थापक एवम चर्चित कथा वाचक वालयोगेश्वर विजय मुर्ती महाराजले बताए ।
महायज्ञलाई सफल पार्न विभिन्न समिति, उपसमिति गठन भएका छन भने स्थानीय बासिन्दा अहोरात्र खटिएका छन् । गोदावरी नगरपालिका एवम् ललितपुरवासीलाई महायज्ञ पुर्व विभिन्न कार्यक्रम गरेर दानविर र भक्तजनलाई आमन्त्रण गरिएको छ । महायज्ञ शुरु हुनु अघि मोटर साइकल र्यालीको आयोजना र शोभा यात्राको आयोजना गरिएको आयोजकले बताएका छन् । यस महायज्ञको कथाबाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्ने छन् ।