बारा । निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुले उपभोक्तासंग निकट रहेर काम गर्नुपर्ने बताएकन छन् ।
सामुदायिक वन उपभोक्ता महासंघ निजगढ नगरको आयोजना तथा निजगढ नगरपालिका र महासंघ बाराको सहयोगमा विहीवार निजगढमा भएको वनसम्बन्धि कानूनी व्यवस्था, समुह र स्थानीय तहको भूमिका विषयक अन्तक्रिया कार्यक्रमा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताएका हुन् ।
नगर प्रमुख पुरीले निजगढ नगरभित्रका वन समूहमा रहेका समस्या पहिचान गरेर समाधानको उपाय खोज्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै समुहभित्र देखिएका समस्या हल गर्न निजगढ नगरपालिका सदैव तत्पर रहेको पनि बताए । ‘सामुदायिक वन समुह प्राकृतिक स्रोतको न्यायोचित वितरणको लागि गठन भएको संस्था हो, नगर प्रमुख पुरीले भने, 'उपभोक्ताहरूले आफ्नो वन क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतहरुको संरक्षणसंगै उपभोग पनि गर्न पाउनु पर्छ ।'
उपभोक्ताहरूले आवश्यकता अनुसार वन पैदवार र प्राकृतिक स्रोतको प्रयोग गर्न पाएनन भने त्यसको संरक्षणमा पनि चासो नदिने नगर प्रमुख पुरीको भनाई थियो ।
वन समुहले उपभोक्ताहरूको आवश्यकता र चाहना पूरा गर्न सके भने वन संरक्षणमा उपभोक्ताले चासो नदेखाउन सक्ने भन्दै उहाले यसको लागि समितिका पदाधिकारीहरुले उपभोक्ताहरुसँग निकट रहेर पारदर्शीता र विधिसम्मत रुपमा काम गर्नुपर्ने बताएका थिए ।
नगरका धेरै वन समुहमा समस्या रहेको नगर प्रमुख पुरीको भनाई थियो । उनले वन समूहलाई सहजीकरण गर्न नगरपालिकाले अधिकृत स्तरको बन प्राविधिक नियुक्त गर्न लागेको पनि जानकारी दिए । ‘प्राविधिक कर्मचारीको अभावमा पनि समूहले काम गर्न सकेका छैनन, उनले भने, ‘वन कर्मचारी नियुक्तिपछि समूहमा अहिले देखिएका अधिकांश समस्या हल हुनेछ।'
कार्यक्रममा वन डिभिजन वन कार्यालय बाराका वन अधिकृत जवाहर कुर्मीले वन संरक्षणको लागि सामुदायिक वन उपभोक्ता समुहहरु सक्षम हुनुपर्ने बताएका थिए ।
धेरैजसो समुहका पदाधिकारीहरू कानुनी र प्राविधिक विषयमा अनभिज्ञ रहेकोले पनि सामुदायिक वन व्यवस्थापनमा समस्या उत्पन्न भएको र समुहमा पनि वन कर्मचारीहरु हावी भएको कुर्मीको भनाई थियो।
वन समुह सक्षम नभएसम्म कर्मचारहरु हावी भैरहने छन अधिकृत कुर्मीले भने, ‘तपाईहरूले काम गर्नसक्नु भएन भनेर कर्मचारीले पनि त्यसै छोडन मिल्दैन ।' कुर्मीले कर्मचारीले उपभोक्ताहरूको सेवा र सहजीकरणको लागि काम गर्ने पनि बताए ।
नगर सामुदायिक वन समुहका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले वनसम्बन्धि कानुनी व्यवस्थाको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा निजगढ नगरपालिका बन तथा वातावरण समितिका संयोजक एवम कार्यपालिका सदस्य सूर्य घलानलगायत निजगढका विभिन्न सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताहरुले जानकारी गराएका थिए ।
आआफ्नो समुहमा देखिएका समस्याहरूको बारेमा जानकारी कार्यक्रमका अधिकांश सहभागीहरुले वन कर्मचारीहरुले सहज सेवा प्रदान नगर्दा समुहको कार्ययोजना नवीकरण हुन नसकेर आफूहरुले बन संरक्षणको क्षेत्रमा काम गर्न नसकेको गुनासो गरेका थिए ।
निजगढ नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समुहलाई वन सम्बन्धि कानुनी व्यवस्थाको जानकारी गराउने र समुहको सशक्तीकरण गरेर वन संरक्षण र उपभोक्ताको आयआर्जन बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर संघका अध्यक्ष थापाले जानकारी दिए ।