बारा । बारा जिल्लको निजगढ वडा नं. १३ स्थित शक्तिश्वर मन्दिर गुफामा हरिबोधिनी एकादशी मेला आयोजना गरिने भएको छ । मेलामा विभिन्न संस्कृतिक नृत्य, खेल, र मनोरञ्जनात्मक स्टलहरू राखिने मेला आयोजक समितिका अध्यक्ष दिपक न्यौपानेले जनाएको छ । यहि मंसिर ७ गते बिहबार बिहानैदेखि नदी किनारमा फूल तार्ने र पूजा गर्ने भक्तजनको भिडसंगै मेला पनि लगाउने तयारी भएको हो ।
हरिबोधिनी एकादशीको दिन शक्ति खोला किनारमा पर्ने शिव शक्तिश्वर मन्दिर गुफा परिसरमा हरेक बर्ष मेला लाग्ने गरेको छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ ।
भगवान विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा पनि गरीन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन छ ।
मेला आयोजक समितिका अध्यक्ष न्यौपानेका अनुसार मेलामा डम्बरपुर, रतनपुर, भक्तलाल, हेटौडा आम्लेखगञ्जबाट ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु ढोलीमा फूल, प्रसाद लिएर शक्ति नदीमा फूल तार्न आउने गरेका छन । सोही दिन भजन, कृतन, नाचगान गरेर पूजा गरेर तोरन नदीमा टाँगिने गरिन्छ ।